प्रस, गरुडा, २९ कात्तिक/

रौतहटको गरुडामा दुईजना बालकको शव प्रदर्शन गर्दै आफन्तजनहरूले सोमवार दुई घण्टा सडकजाम गरेका छन् । रौतहटको देवाहीगोनाही नगरपालिका–५ का दुईजना बालकको विषसेवनका कारण मृत्यु भएपछि कसैले विष खुवाएर हत्या गरेको भन्दै आफन्तजनले दोषीलाई समातेर कारबाही गर्नुपर्ने माग राख्दै आज गरुडामा सडकजाम र विरोध प्रदर्शन गरेका हुन् ।

देवाहीगोनाही नपा–५ टिकुलियाका सञ्जय मुखियाका पाँच वर्षका छोरा आकाश मुखिया र तीन वर्षका छोरा विकास मुखियाको विषसेवनका कारण शनिवार मृत्यु भएको थियो । मृतक दुवैजना सहोदर दाजुभाइ हुन् । मृतक दाजुभाइको शव प्रदर्शन गर्दै आफन्तजनले क्षतिपूर्तिको माग पनि गरेका छन् ।

शनिवारको दिन बिहान करीब ८ बजेको समयमा मृतक दुवै दाजुभाइले बान्ता गर्न थालेपछि आफन्त जयलाल मुखियाले घरमैं उपचार गर्न खोज्दा सम्भव नभएपछि गरुडा–५ शिवनगरस्थित सञ्जीवनी अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो ।

शिवनगरमा उपचार सम्भव नभएपछि गरुडा–४ गरुडा बजारस्थित अनामिका अस्पतालमा उपचारको लागि पु¥याउँदा त्यहाँ पनि सम्भव नभएपछि वीरगंजस्थित तराई अस्पतालमा लगिएको थियो । तराई अस्पतालमा नै दुवैजना बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

दुवै बालकलाई कसैले विष खुवाएर मारेको भन्दै टिकुलियाका स्थानीयवासीका साथै मृतकका आफन्तजनहरूले गरुडामा प्रदर्शन गरेका हुन् । प्रदर्शनको क्रममा सरोकारवालासित इलाका प्रहरी कार्यालय गरुडाले छलफल गरेको छ । चार दिनभित्र अनुसन्धान गरेर दोषी पत्ता लगाउने प्रतिबद्धता इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

मृतक दुवै बालकको नारायणी अस्पताल वीरगंजमा शल्यपरीक्षण गरिएको जानकारी दिंदै इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले दुईजना बालकको मृत्यु कसैले विष खुवाएर भएको हो वा आफैंले खाएर भएको हो भन्ने विषयमा प्रहरी गम्भीर भएर अनुसन्धान गरिरहेको जानकारी गराएका छन् ।

मृतक दाजुभाइका पिता सञ्जय मुखिया वैदेशिक रोजगारको क्रममा साउदी अरेबियामा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here