प्रस, वीरगंज, २९ कात्तिक/

भूमिसूधार तथा मालपोत कार्यालय, कलैया, बाराका नायब सुब्बा कौशलकिशोर झा विगत १० वर्षदेखि सोही कार्यालयमा कार्यरत छन् । पैसा र पहुँचको आधारमा उनको पटक–पटक सरुवा हुँदा पनि सम्बन्धित जिल्लामा नगएको मालपोत स्रोतको भनाइ छ । १० महीनाअघि आफैं निवेदन दिएर म्याग्दी जिल्लामा सरुवा गराए पनि हालसम्म रवानापत्र बुझेका छैनन् ।

उनले भूमिसुधार तथा मालपोत कार्यालय बाराको मुद्दा फाँटमा लामो समयसम्म बस्दा करोडौं सम्पत्ति जोडेको स्रोतको दाबी छ । कार्यालयमा कुनै पनि फाइल विनाकमिशन अघि नबढ्ने सेवाग्राहीको अरोप छ । सेवाग्राहीले सम्पत्ति शुद्धीकरण विभागबाट उनको र आफन्तजनको नाममा रहेको सम्पत्ति छानबीन गर्न माग गरेका छन् ।

मालपोत स्रोतका अनुसार झामाथि मालपोत कार्यालयका प्रमुख गोपालप्रसाद बराल र भूमिसुधार मन्त्रालयका महानिर्देशकसमेतको आशीर्वाद रहेकोले उनले सरुवा भएर जान आलटाल गरिरहेको बताइएको छ ।

यस विषयमा नासु झासँग कुरा गर्दा उनले तथ्यहीन आरोप लगाइएको बताए । उनले कोरोना महामारी र बाढी पहिरोको कारण रवाना नबुझेको बताए । उनले कमिशन तथा आर्थिक लोभमा लामो समयसम्म एकै ठाउँ बसेको कुरासँग असहमति जनाए । उनी बारामा २०४७ सालदेखि निजामती सेवामा खरिदार पदमा नियुक्त भएकोमा २०६८ सालमा सुब्बामा बढुवा भएर मालपोत गएको बताए ।

मालपोतमा बस्दा आचरण ठीक नभए कसरी जागीर गर्थें भनी उनले प्रतिप्रश्न गरे । उनले अब रवानापत्र लिएर जाने सोच बनाइरहेको पनि बताए ।

प्रमुख बरालका अनुसार कार्यालयमा काम गर्ने अनुभवी कर्मचारीको कमी रहेकोले रोकेर राखेको बताए । “मानिस के–के आरोप लगाउँछन्, मैले मुद्दा हेर्ने कर्मचारी नभएर राखेको हो, वन क्षेत्रको जग्गा अनुभवी कर्मचारीले मात्र हेर्न सक्छ”–उनले भने–“उनीबाट रुष्ट कर्मचारीले आधारहीन आरोप लगाएका हुन् ।” उनले कार्यालयमा दरबन्दीको अनुपातमा निकै कम कर्मचारी रहेकाले रवाना दिएर नपठाएको स्पष्ट पारे ।

उनका अनुसार कार्यालयमा चारजना अधिकृतमध्ये एकजना कोलेनिकाबाट लेखापाल बोलाइ काम चलाइरहेको, १० जना सुब्बाको दरबन्दी रहेकामा पाँचजना र १८ जना खरिदारको दरबन्दी रहेकामा ११ जना र कार्यालय सहयोगी गरी कुल ४५ जना कर्मचारीले मात्र काम चलाइरहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here