प्रस, वीरगंज, २९ कात्तिक/

नेकपा (एमाले)को दशौं राष्ट्रिय महाधिवेशनको लागि पर्साबाट सोमवार सर्वसम्मत प्रतिनिधि चयन भएको जिल्ला अध्यक्ष प्रभु हजराले बताए । जिल्लाको चारवटै निर्वाचन क्षेत्रबाट ३० जना प्रतिनिधि चयन गर्नुपर्नेमा एकजना दलित महिलाबाहेक २९ जना प्रतिनिधि सर्वसम्मतरूपमा चयन गरिएको अध्यक्ष हजराले बताए । उनले एमाले पार्टी कार्यालय मनमोहननगरमा सोमवार बसेको पदाधिकारीहरूको बैठकले सर्वसम्मतरूपमा क्षेत्र नं १ बाट इस्लाम हवारी, बसरुद्दीन अन्सारी, अरविन्द सिंह, डा विश्वम्भर शर्मा, शम्भु गुप्ता, मुना दहाल, सुभद्रा बन्जारालाई महाधिवेशन प्रतिनिधिमा चयन गरेको बताए ।

यसैगरी, क्षेत्र नं २ बाट गोकर्ण पाठक, महेश दास, केदार तिवारी र विना शर्मा चयन भएका छन् भने क्षेत्र नं ३ बाट राजकुमार गुप्ता, प्रद्युम्न चौहान, फरमान अन्सारी, वासुदेव महतो, तेजप्रकाश निषाद, सञ्जीव मिश्र, मीना साह र लक्ष्मी कुशवाहा चयन भएका छन । यस्तै, क्षेत्र नं ४ बाट जयप्रकाश थारू, मनोज गुप्ता, जोगिन्द्र साह, ठाकुर न्यौपाने र मीना गिरी चयन भएको अध्यक्ष हजराले बताए । जिल्लाभरिका दलितबाट अध्यक्ष हजरा, हरेन्द्र हजरा, अमिताभबच्चन दास, सन्तोष पासवान र नविया गोसाईं महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन् ।

एमालेको दशौं महाधिवेशन प्रतिनिधिका लागि कात्तिक २५ गते पार्टी कार्यालयमा उम्मेदवारी दर्ता भएको थियो भने सोही दिन प्राविधिक कारण देखाएर स्थगित पनि गरिएको थियो । महाधिवेशन नजीकिएको र प्रतिनिधि चयन आवश्यक भएकोले पदाधिकारी बैठकबाट चयन गरिएको अध्यक्ष हजराले बताए । एमालेको दशौं राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुनेछ ।

रातारात सदस्यता थपिएको आरोप

नेकपा एमाले पर्साले रातारात हजारौंजना सदस्य थपेको आरोप छ । एकजना एमाले कार्यकर्ताले कात्तिक २५ गतेसम्म दशौं राष्ट्रिय महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दर्ता गर्दा चारवटै क्षेत्रबाट कुल १४ जना प्रतिनिधि निर्वाचित हुने सूची प्रकाशन भएको तर पदाधिकारी बैठकले कात्तिक २९ गते सर्वसम्मत प्रतिनिधि चयन गर्दा सो सङ्ख्या ३० पुग्नुले रातारात सदस्य थपिएको पुष्टि भएको बताए ।

ती कार्यकर्ताले बताए अनुसार क्षेत्र नं १ देखि ३ सम्म एकजना महिलासहित तीनजना प्रतिनिधि र क्षेत्र नं ४ मा एकजना महिलासहित पाँचजना प्रतिनिधिको लागि निर्वाचन गराउने सूची थियो ।
तर सो दिन प्राविधिक कारण देखाएर निर्वाचन स्थगित गरिएको र कात्तिक २९ गते पदाधिकारी बैठकले एकाएक ३० जनाको सूची सार्वजनिक गरिनुको आशय असल नभएको बताए ।

यसबारेमा अध्यक्ष हजरासँग बुझ्दा उनले एमालेसँग आबद्ध सदस्यहरू केन्द्रीय रेकर्ड अनुसार २०७४ सालदेखि नै करीब ११ हजार रहेको र माओवादीसँग एकीकरणपश्चात् करीब चार हजार २०० सयजना सदस्य थपिएको बताए । उनले एमाले पार्टीको विधान अनुसार सदस्यता थप भएको र यसमा आरोपको गुन्जाइस नभएको बताए ।

आजको पदाधिकारी बैठकले निर्वाचनमा उम्मेदवारी नदिएका दशजना र कात्तिक २५ गते अन्तिम नामावली प्रकाशन गर्दा निर्वाचन अधिकृतले उम्मेदवारी दिएका तीनजनालाई अयोग्य घोषित गरेकाहरूलाई पनि प्रतिनिधि बनाइएको छ । जसले गर्दा विधिविधानमा चल्दै आएको दाबी गर्ने एमाले पर्सामा अहिले प्रश्नचिह्न खडा भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here