राजेश मिश्र
सोमवार ‘नहाय खाय’देखि शुरू भएको महापर्व छठ व्रत बिहीवार उदाउँदो सूयलाई अघ्र्य दिएसँगै सम्पन्न भयो । अघिल्लो दुई वर्षको तुलनामा यस वर्ष छठ पर्वको वातावरण उत्साहमय थियो । अघिल्लो दुई वर्ष कोरोनाको उग्र सन्तापमा बितेको सन्दर्भमा आम दिनचर्या असहज भएर पवहरू पनि प्रभावित हुनु स्वाभाविक थियो ।
यस वर्ष छठको उत्साह शहरदेखि गाउँसम्म व्यापक देखियो । दुई वर्षदेखि प्रभावित व्यापारिक कारोबार पनि यस वर्ष सन्तोषजनक भएको मान्नुपर्छ । बजारहरूमा देखिएको भीडले ठूला, साना तथा खुद्रा र सडक व्यापार राम्ररी फस्टाएको अनुमान गर्न सकिन्छ । छठ यस्तो पर्व हो, जसको धार्मिक र पौराणिक महŒव त छँदैछ, यो नितान्त सामाजिक सहिष्णुताको पर्व हो । त्यस कारण छठलाई ‘महापर्व’ भनिन्छ ।
सामान्य समयको तुलनामा छठ पर्वको अवसरमा व्यापारिक कारोबार झन्डै चार/पाँच गुणा बढी हुन्छ । यसरी जनआस्थाको महापर्व छठकोे आर्थिक कारोबारमा पनि निकै महŒवपूर्ण योगदान छ । माटाका सामग्री, बाँसको दौरा, डगरा, सुपुली, दूध, गुड, चिनी, पीठो, मैदा, घ्यू, खानेतेल, उखु, आर्ताको पात, बयर, सिंघडा, सुकेको बोडी, सुथनी, अरुई, अदुवा, स्याउ, केरा आदि छठ पर्वको सन्दर्भमा नभई नहुने कृषि उत्पादन हुन् ।
यसको अलावा नयाँ परिधानको कारोबार पनि निकै हुन्छ । कम समयमा बढी व्यापार हुने गरेकाले व्यापारीहरूले ऋण काढेर भएपनि छठ पर्वको अवसरमा अत्यधिक सामग्री भण्डारण गर्ने गर्दछन् । यसबाहेक अन्य प्रकृतिको व्यवसाय गर्ने साना तथा सडक व्यापारीहरू छठ पर्वको अवसरमा छठसँग सम्बन्धित सामग्रीको व्यापार गर्ने गर्दछन् ।
जसरी कोरोनाको प्रसार घटाउन सामाजिक दूरी आवश्यक छ, त्यसरी नै प्राकृतिक तथा सामाजिक अपनत्व बढाउन छठ पर्व महŒवपूर्ण छ । पौराणिककालदेखि प्रचलनमा रहेको छठ पर्व सामाजिक अपनत्वको महापर्व हो । छठ पर्वले समाजलाई एक सूत्रमा बाँध्ने काम गर्दछ । जस्तै छठ पर्वको लागि आवश्यक पर्ने सामग्री स्थानीय उत्पादन हुन्छ ।
त्यसैगरी, विभिन्न व्यक्तिका फरक–फरक कृषि उत्पादनलाई छठपूजाको लागि एकत्रित गरिन्छ र पूजामा प्रयोग गरिन्छ । दूध उत्पादन गर्ने व्यक्ति दौरा, डगरा र सुपुलीको लागि अर्को व्यक्तिमा निर्भर हुन्छन् । त्यस्तै, बाँसको सामग्री निर्माण गर्ने व्यक्ति दूध र दहीको लागि अर्को व्यक्तिमा निर्भर हुन्छन् । माटाका सामग्री उत्पादन गर्ने व्यक्ति आफ्नो उत्पादनबाहेक अन्य सामग्रीको लागि अर्को व्यक्तिमा निर्भर हुन्छन् । अर्थात् एक व्यक्तिको अर्काे व्यक्तिसँग सामाजिक सरोकार र समन्वय निर्विकल्प छ भन्ने कुरा छठ पर्वले बोध गराउँछ । छठघाट सजाउन युवाशक्ति अग्रपङ्क्तिमा हुन्छ । सरसफाइदेखि पण्डाल निर्माणजस्ता कार्य युवाको परिश्रमले फलीभूत हुन्छ ।
छठ महापर्व शुद्धताको प्रतीक हो । विभिन्न ठाउँबाट किनेर ल्याएको कृषि उपज पानीले धोइपखाली सफा गरिन्छ । चोखो पारिन्छ । मुख्यतया छठ पर्वमा महिलाहरू व्रत बस्छन् । यसर्थ अग्रपङ्क्तिमा महिला नै हुन्छन् । सारथिको रूपमा पुरुषहरूकोे सहयोगी भूमिका हुन्छ । यसरी छठ पर्वले महिला र पुरुषबीच सामञ्जस्यता बढाउँछ । देश विदेशमा रहेका आफन्तजनलाई छठ पर्वको अवसरमा घर आउने उत्सुकता हुन्छ । पर्वको उत्साहसँगै पारिवारिक जमघट तथा इष्टमित्रसँग भेटघाट गर्ने अवसर प्राप्त हुन्छ । धेरै दिनदेखि भेटघाट नभएका इष्टमित्र तथा आफन्त एकैथलोमा अर्थात् छठघाटमा उपस्थित हुन्छन् । यहीं अवसरमा एकअर्काको हालखबर अद्यावधिक गर्ने साइत जुर्छ ।
प्रकृति अर्थात् सूर्य र जलाशयसँग प्राणीजगत्को अटुट नातालाई झन् मजबूत बनाउने महापर्व हो, छठ । प्राणवायु, जल तथा सूर्यको प्रकाशविना प्राणीजगत्को अस्तित्वको कल्पना गर्न सकिंदैन । यसर्थ प्रकृति र प्राणीबीच गहिरो सम्बन्धको पर्यायवाचीको रूपमा सदीयौंदेखि छठ व्रत प्रचलनमा छ । छठ पर्व नजीकिंदै जाँदा सामाजिक गतिविधि चलायमान हुन्छ । छठ पर्वको लागि आवश्यक सामग्रीमध्ये जोसँग जति उपलब्ध छ, छरछिमेकमा बाँड्ने प्रचलन नितान्त सामाजिक सद्भावको प्रतीक होे । कागती, केरा, फर्सी, अदुवा र उखु आदि कृषि सामग्री निस्स्वार्थ घर–घरमा बाँडिन्छ। कमजोर आर्थिक अवस्था भएका परिवारलाई छरछिमेकले आर्थिक वा पूजन सामग्री सहयोग गर्ने प्रचलन पुर्खौंदेखि चलिआएको छ ।
छठ पर्वमा आवश्यक पर्ने सामग्री यदि कसैले मागेको खण्डमा झूटो बोल्ने वा ढाँट्ने काम कदापि गरिंदैन । यस पर्वमा कसैलाई कुनै सहयोग गर्दा प्रचारप्रसार गर्ने प्रचलन उहिले थिएन । धार्मिक संस्कार अनुसार दान दिएपछि प्रचार गर्नुहुँदैन । यदि प्रचार गरिन्छ भने त्यस दानको कुनै अर्थ छैन । छठ पर्वले मानवलाई प्रकृति, समाज, अपनत्व, ममत्व, सत्य वचन तथा सत्यमार्गतर्फ डो¥याउने कुरा सिकाउँछ ।
चुनाव लक्षित दान
छठको अवसरमा यस वर्ष राजनीतिक वृत्तमा विभिन्न सामग्री बाँडेको देखियो । चुनावअघि यस्तो परोपकार गर्नेमाथि सन्देह उत्पन्न हुनु अस्वाभाविक होइन । अपवादबाहेक चुनाव लक्षित छठ सामग्री बाँड्ने विडम्बनापूर्ण होड बढ्दै गइरहेको छ । चुनावको पूर्वसन्ध्यामा परोपकारी भावना अङ्कुरण हुनु दानको आग्रह होइन । विगतको चुनावी इतिहासले वर्तमान चुनावअघिको गतिविधिमाथि संशय खडा गरेको छ ।
सामाजिक सेवामा समर्पित बहुसङ्ख्यक पात्र छन् । उनीहरू सदैव समाजको भलोको निम्ति तत्पर रहन्छन् । उनीहरूलाई दान गर्नको लागि कुनै अमुक तिथि, मिति वा समयको प्रतीक्षा हुँदैन । प्राकृतिक प्रकोप होस् वा कुनै विपत्ति आइपरोस् वा पर्व तिहार नै किन नहोस्, उनीहरू अक्षम मानिसलाई सकेसम्म सहयोग गर्न सधैं तत्पर रहन्छन् । यद्यपि चुनावको पूर्वसन्ध्यामा एकाएक परोपकारी भावना उत्पन्न हुनु संयोग मात्र हुन सक्तैन । अघिल्लो चुनावअघि बाढी–पहिरो आएको थियो ।
चुनावका सम्भावित उम्मेदवारहरूले मनग्य सामाजिक सेवा गरेको देखियो । अपवादबाहेक विजेता जनप्रतिनिधिहरूको झन्डै चार वर्षको गतिविधि छर्लङ्ग छ । त्यस्तै, चार वर्षसम्म हराइरहेका पराजित उम्मेदवारहरूमा एकाएक धार्मिक सहिष्णुता उत्पन्न हुनुलाई कसरी सेवाभाव मान्न सकिन्छ ? अचेल गणतन्त्रको दोस्रो चुनावअघि सम्भावित उम्मेदवारहरू पुनः गाउँ तथा शहरका कुनाकप्चा पुग्न थाल्नु, सद्भावको कुरा गर्नु तथा जनसहयोगी प्रवृत्ति प्रकट गर्नु आदि संयोग मात्र होइन रहेछ । दान दिने व्यक्तिले दान लिने व्यक्तिको सूची बनाएर दान गर्ने प्रवृत्तिलाई कसरी दान मान्न सकिन्छ ? चुनावमा मतको अपेक्षा केन्द्रित दान किमार्थ दानको सूचीमा पर्दैन । छठपछि यस वर्षको जाडो महीनामा पनि चुनाव लक्षित कम्बल दान गर्नेहरूको सङ्ख्यामा वृद्धि नहोला भन्न सकिन्न । प्रत्यक्ष्Fतः दान देखिन्छ तर परोक्षमा मतको अपेक्षा मान्नु अतिशयोक्ति भन्न सकिन्न ।