प्रस, वीरगंज, २८ कात्तिक/
हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगंजका प्रमुख दरोगा साहले पप्पु/लुम्बिनी जेभीलाई हुलाकी सडकखण्डमा पर्ने तिलावे नदीमा पुलको निर्माण कार्य तीन दिनभित्र शुरू गर्न निर्देशन दिएका छन् ।
प्रमुख साहले पप्पु कन्स्ट्रक्शनका पूर्वसञ्चालक एवं निलम्बित सांसद हरिनारायण रौनियार, लुम्बिनी जेभीका प्रतिनिधिद्वय युवराज अर्याल र नवराज ज्ञवालीलाई बोलाएर तीन दिनभित्र तिलावे पुलको निर्माण कार्य शुरू गर्न निर्देशन दिएका हुन् ।
आज निर्माण कम्पनीसँग पुल निर्माण, मोबिलाइजेशन पेश्की र डाइभर्सनका बारेमा छलफल भएको थियो । छलफलमा प्रमुख साहले निर्माण कम्पनीलाई तीन दिनभित्र पुलको काम शुरू गर्न निर्देशन दिएका थिए । निर्माण कम्पनीले लिखितरूपमा तीन दिनभित्र काम शुरू गर्ने सहमति जनाएको प्रमुख साहले बताए ।
उनले कोरोनाको कारण भएको बन्दाबन्दी अनि वर्षाले छ महीनादेखि पुल निर्माणको काम रोकिएकोमा तीन दिनभित्र काम शुरू गर्न निर्देशन दिएका हुन् । काम शुरू भएपछि बाँकीका दुई विषयमा छलफल हुने सो कार्यालयले जनाएको छ ।
पुल निर्माणमा ढिला भएको, डाइभर्सन नबनाउँदा तिलावे नदीमा रहेको पुरानो पुलबाट एकतर्फी सवारी सञ्चालन हुँदा दैनिक तीन/चार घण्टाभन्दा बढी जाम झेल्नुपरेको भन्दै स्थानीय युवाहरूले तिलावे पुल निर्माणमा भएको ढिलाइविरुद्ध आन्दोलन पनि गर्दै आएका छन् ।