प्रस, वीरगंज, २८ कात्तिक/
भूमिसुधार तथा मालपोत कार्यालय वीरगंजमा कार्यरत करार दरबन्दीका २१ जना कर्मचारीले चालू आवमा तलब पाएका छैनन् ।
चालू आव २०७८/७९ को साउनदेखि कात्तिकसम्मको तलब दशैंअगावै पाउनुपर्नेमा कात्तिक मसान्त आइसक्दा पनि नपाएको एकजना कर्मचारीले प्रतीकलाई बताए ।
सो कार्यालयका दरबन्दीभित्रका स्थायी कर्मचारीहरूले भने दशैं बिदाको एक दिनअघि मात्र तलब पाएका थिए । कार्यालय प्रमुख वासुदेव खतिवडाको दशैंअघि सरुवा भएको र उनले आर्थिक कारोबारको अधिकार नसुम्पेको अनि विभागले पनि सोको अख्तियारी निमित्त कार्यालय प्रमुख कमोद तिवारीलाई नदिएको कारण तलब वितरणमा समस्या भएको बताइन्छ ।
दशैंमा स्थायी दरबन्दीका कर्मचारीलाई तलब वितरण गरेका लेखापाल लक्ष्मण गौतम त्यसपछि बिरामी परेका थिए । अहिले निमित्त कार्यालय प्रमुख तिवारीले अख्तियारीको काम मात्र गर्दै आएको तर आर्थिक कारोबारको अख्तियारी नपाएकोले अन्य कर्मचारीले तलब खान सकेका छैनन्।
भूमिसुधार तथा मालपोत कार्यालय वीरगंजमा लामो समयदेखि करार दरबन्दीमा २१ जना कर्मचारीले कार्य गर्दै आएका छन् ।
मालपोतमा १६ जना र भूमिसुधारमा पाँचजना करारका कर्मचारी कार्य गर्दै आएकामा पहिलोचोटि दशैं, दीपावली र छठमा तलब नपाएको प्रतिक्रिया दिए । उनीहरूले पोशाकभत्ताबापत वार्षिक रु ९ हजार ५ सय पाउँदै आएकामा पनि तीन वर्षदेखि सो भत्ता नपाएको गुनासो गरे ।