प्रस, वीरगंज, २८ कात्तिक/
धोबिनी गाउँपालिका–२ का बासिन्दाले विभिन्न माग राख्दै गापा कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।
जनता समाजवादी पार्टीका स्थानीय नेता मदन चौहान नेतृत्वको टोलीले गापा अध्यक्ष सुरेश कुर्मी र प्रमुख प्रशासकीय अधिकृत राजु साहलाई संयुक्तरूपमा ज्ञापनपत्र बुझाउँदै तत्काल माग सम्बोधन गर्न माग गरेको थियो ।
ज्ञापनपत्रमा वडा नं १ ओरिया खोलामा घोडदौडाका बासिन्दाका लागि गत आव २०७५/७६ मा छुट्टयाइएको रु ५० लाख रकम निकासा भए तापनि के कारणले निर्माण कार्य सम्पन्न नभएको भन्दै सोबारे स्पष्ट पार्न माग गरिएको छ ।
वडा नं २ स्थित प्राथमिक स्वास्थ्य केन्द्रको निर्माण कार्य किन रोकिएको, २०७७/७८ मा डिपिआरको बहानामा २० लाख रुपैयाँ विनियोजन गरे पनि सो रकमबारे जानकारी नगराएको भनी चासो राखिएको थियो ।
सोही वडाको भिखमपुरदेखि गुलरियासम्मको सडक निर्माण कार्यमा पटक–पटक रकम विनियोजन गरी खर्च गरेको भेटिएको छ ।
गत आवको प्रधानमन्त्री स्वरोजगार कोषमा आएको ५२ लाख रुपैयाँ कहाँ खर्च भएको तथा गत आवको प्रमाणित आयव्ययसमेत उपलब्ध गराउन माग गरिएको स्थानीय देवेन्द्रप्रसाद कुर्मीले बताए ।