प्रस, वीरगंज, २७ कात्तिक/
नेपाल इन्जिनीयर्स एशोसिएशन वीरगंज केन्द्र आन्दोलित भएको छ । केन्द्रका सदस्य इन्जिनीयर राजेशकुमार चौरसियालाई सिआइबीको टोलीले पक्राउ गरेको घटनामा आपत्ति जनाउँदै केन्द्र आन्दोलित भएको हो ।
भूमाफियाहरूले नक्कली लालपुर्जा, ब्लु प्रिन्ट नक्शा र वडा कार्यालयबाट नक्कली चौहदी प्रमाणित गराइ रु १७ करोड ऋण लिएको घटनामा छानबीन गर्ने क्रममा केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडौंले इन्जिनीयर चौरसियालाई नियन्त्रणमा लिएकोले यथाशीघ्र रिहाइको माग गर्दैै केन्द्र आन्दोलित भएको हो । वीरगंज केन्द्र र भ्यालुएटर्स सङ्घले देशभरि भ्यालुएशनको काम ठप्प पारी आन्दोलनमा उत्रेका छन् ।
बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाहका लागि आवश्यक धितोको मूल्याङ्कन गर्ने कार्यमा संलग्न रहेका चौरसियालाई पूर्वाग्रही तरीकाले फसाउन खोजिएको वीरगंज केन्द्रको आरोप छ । इन्जिनीयर एशोसिएशन वीरगंज केन्द्रका अध्यक्ष इन्जिनीयर उमेशकुमार रौनियारद्वारा जारी प्रेस विज्ञप्तिमा प्रहरी प्रशासनको ध्यानाकर्षण गराइएको छ ।
्बैंकले उपलब्ध गराएको कागजातका आधारमा जग्गाको मूल्याङ्कन गरेकोले पक्राउ परेका इन्जिनीयर चौरसिया निर्दोष रहेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
घटनाको बारेमा सत्यतथ्य छानबीन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै एशोसिएशनले नेपाल भ्यालुएटर्स एशोसिएशनले घोषणा गरेको विरोधका कारण विगत तीन दिनदेखि वीरगंजमा जग्गाको भ्यालुएशनको काम ठप्प पारिएको उनले बताए ।
गायक योगेश्वर अमात्यको बाराको विश्रामपुर गापाको विश्वम्भरपुरमा रहेको १२ बिघा जग्गाको नक्कली कागजात खडा गरी भूमाफियाहरूले कुमारी बैंकबाट रु ३८ करोडको मूल्याङ्कन गराइ रु १९ करोड कर्जा गत साउनमा लिएका थिए ।
जग्गाधनीले यसबारे जानकारी पाएपछि गत कात्तिक २ गते सिआइबीमा उजूरी गरेका थिए ।
त्यसपछि पर्सा र बारा प्रहरीको सहयोगमा तीन दिनअघि कुमारी बैंक वीरगंज शाखाका कनिष्ठ सहायक सोनु ठाकुर, भ्यालुएटर कम्पनीका इन्जिनीयर राजेश चौरसिया, डेनियल ट्रेडिङ कम्पनीको नामले रु १९ करोड ऋण लिने मुक्तिलाल गौतम, यशकुमार महर्जन गरी चारजनालाई सिआइबीको टोलीले हिरासतमा लिइएको छ ।
चौरसिया वीरगंज महानगरपालिकाको योजना शाखाका प्रमुख इन्जिनीयर भएकाले उनले आफ्नो एकजना आफन्तजनको नामबाट भ्यालुएटर्स कम्पनी खोलेका छन् ।
भूमाफियाले कुमारी बैंकको न्यूरोड शाखामा ऋणको लागि निवेदन दिएपछि वीरगंज शाखाको सहयोगमा जग्गाको मूल्याङ्कन गरी सिफारिश गरिएको थियो । यो प्रकरणका मुख्य योजनाकार कुसन प्रधान र बैंकका केही वरिष्ठ कर्मचारी फरार छन् ।