प्रस, वीरगंज, २३ कात्तिक/
श्रीसिया नदीको प्रदूषण रोक्न माग गर्दै यसपटक पनि छठपर्वमा ज्ञापन दिने काम मात्र भयो।
बर्सेनि छठपूजालाई लक्षित गरेर भारत, नेपालका केही संस्थाहरूले आफ्नो क्षेत्रमा ज्ञापन दिने र त्यसपछि श्रीसिया नदीको प्रदूषणलाई बिर्सिने कार्यलाई निरन्तरता दिएका छन्। यसपटक पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाललाई कात्तिक १४ गते नेपाल पिछडावर्ग महासङ्घ, ओबिसीले श्रीसिया नदी प्रदूषण नियन्त्रणका लागि ज्ञापनपत्र दिएको थियो।
अधिकांश मानिसहरू श्रीसिया नदीमा छठपूजा गर्ने र नदीमा विभिन्न कलकारखानाको प्रदूषणयुक्त पानी बगाउने हुनाले विभिन्न खाले रोग व्याधि हुन सक्ने भन्दै छठपूजालाई लक्षित गरेर प्रशोधित पानी मात्र बगाउन कलकारखानालाई निर्देशन दिन माग गरेका थिए। तर श्रीसिया नदीमा कलकारखानाले प्रदूषित पानी नदीमा बगाइरहेको छ। वीरगंज महानगरपालिकाले नगर क्षेत्रको प्रदूषित पानी प्रशोधित गरेर श्रीसिया नदीमा बगाउने गरी वाटर ट्रिटमेन्ट प्लान्ट सञ्चालनमा ल्याएको करीब तीन वर्ष भयो तर त्यहाँबाट अहिलेसम्म पानी प्रशोधित भएर नदीमा बगाउने काम भएको छैन। वाटर ट्रिटमेन्ट प्लान्टलाई आवश्यक पानी नपुग्दा उद्घाटन भएको तीन वर्ष, अहिलेसम्म यो ट्रिटमेन्ट प्लान्ट सञ्चालनमा आउन सकेको छैन।
यसैगरी बारा–पर्सामा बग्ने यो नदीमा विभिन्न कलकारखानाहरूबाट प्रशोधित पानी मात्र बगाउनुपर्नेमा कुनै पनि कलकारखानाले पानी प्रशोधन गरेर बगाउँदैन। कागजीरूपमा सबै कारखानाले प्रदूषित पानी प्रशोधित गरेर बगाउने गरेको दाबी गर्दै आएका छन् तर केही मात्र उद्योगले वाटर ट्रिटमेन्ट प्लान्ट राखे पनि महानगरजस्तै सञ्चालनमा छैन। डेढ दशकभन्दा अघि सञ्चालनमा ल्याइएको एकाध वाटर ट्रिटमेन्ट प्लान्ट अहिले प्रयोगविहीन अवस्थामा छ।
श्रीसिया नदीको प्रदूषणले छठ गर्न समस्या भएको भन्दै रक्सौलमा पनि यसविरुद्ध अभियान चलाइएको छ। सोमवार स्थानीय एसडिएम आरतीले जिल्ला अधिकारी शीर्षत् कपिल अशोकमार्फत् पर्साका प्रजिअ र महावाणिज्य दूतावासको ध्यानाकर्षण गराएकी थिइन्। सीमावर्ती रक्सौलका ८० प्रतिशत जनताले श्रीसिया नदीमा छठ गर्दै आएको र नदीको पानी अति प्रदूषित भएको हुँदा नेपाली कलकारखानालाई प्रशोधित पानी मात्र नदीमा बगाउन आग्रह गरिएको छ तर यो आग्रह अहिले तुरून्तै पूरा हुने अवस्था छैन।
छठको पूर्वसन्ध्यामा एक दिन मात्र गरिएको यो प्रयासले सार्थकता पाउने देखिंदैन। श्रीसिया नदी प्रदूषणविरुद्ध तीन दशकदेखि आवाज उठिरहेको छ। विभिन्न चरणमा यसको प्रदूषण नियन्त्रणका लागि विभिन्न संस्थाहरूले आवाज उठाएका हुन् तर आवाज उठाएसँगै केही फर्मालिटी पूरा गरिन्छ र पछि समस्या ज्यूँका त्यूँ रहन्छ। श्रीसिया नदीमा निरन्तर भइरहेको प्रदूषणको अहिलेसम्मको कथाव्यथा यस्तै छ।