प्रस, रौतहट, १६ कात्तिक/

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपालको कर्मचारी संयन्त्रलाई लद्दु घोडाको संज्ञा दिएका छन् । उनले नेपालको कर्मचारीतन्त्रमा चरम ढिलासुस्ती रहेको र त्यसैको कारण विकास निर्माणको कामले गति लिन नसकेको आरोप पनि लगाए ।

शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन गृह जिल्ला रौतहट पुगेका नेकपा (एस) पार्टीका अध्यक्ष नेपालले चन्द्रनिगाहपुरमा पत्रकारहरूसँग कुरा गर्दै यस्तो आरोप लगाएका हुन् । नेता नेपालले लद्दु घोडालाई एक चाबुक मारेपछि दुई कदम हिंड्ने अनि फेरि चाबुक लगाए थुचुक्क बस्ने गरेझैं नेपालका कर्मचारीहरूको रवैया रहेको आरोप लगाए ।

नेता नेपालले नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीसँग पानीजहाजको टिकटको पैसा फिर्ता माग्न पनि आग्रह गरे । उनले व्यङ्ग्यात्मक शैलीमा पूर्वप्रधानमन्त्री ओलीले मिति नै तोकेर पानीजहाजको टिकट काट्ने उर्दी दिएको र उनको उर्दी मानेर टिकट काट्न भ्याएकाहरूलाई टिकटको रकम फिर्ता माग्न आग्रह गरे ।

यसैगरी, एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री छँदा घर–घरमा ग्याँसको पाइपलाइन पु¥याउने भनेका थिए, पुग्यो त भनेर नेता नेपालले प्रश्न गरे । उनले ओलीले बालुवाटार र शीतल निवासमा बनाएको हेलिप्याडको पनि आलोचना गरे ।

प्रधानमन्त्री, राष्ट्रपति निवासमा हेलिप्याड बनाएर तमाशा देखाएको उनको आरोप थियो । झापामा अर्बौं खचेर टावर बनाइएको छ, के त्यो टावरबाट धानबाली हेर्ने हो, उनको प्रश्न थियो । नेता नेपालले एमाले अध्यक्ष ओली एक नम्बरको गफाडी भएको टिप्पणी गरे । उनले १६५ भन्दा बढी अस्पतालको एकै दिन शिलान्यास गरेर अर्काे तमाशा गरेको भन्दै ओली देशकै लागि अभिशाप भएको आरोप पनि लगाए ।

नेता नेपालले अहिले तातेको सर्वोच्च अदालतको विवादबारे प्रधानमन्त्री देउवा विदेशबाट आउना साथ छलफल गरी साझा धारणा सार्वजनिक गरिने आश्वासन दिए । तर ‘अर्ली इलेक्शन’को सम्भावना नरहेको बताए । नेता नेपालले भने– अर्ली इलेक्शनको सम्भावना छैन तर तीनै तहको चुनाव तोकिएको समयमा हुने दाबी गरे ।

उनले सात प्रदेशमध्ये छवटामा काङ्ग्रेस, माओवादी र समाजवादीले बराबरी सङ्ख्यामा नेतृत्व गरिरहेको र सुदूरपश्चिमको प्रदेश सरकारमा तत्काल आफ्नो पार्टीको दाबी नरहने प्रष्ट्याए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here