प्रस, रौतहट, १६ कात्तिक/
मुख्यमन्त्री लालबाबू राउत गद्दीले मङ्गलवार रौतहट जिल्लाको बौद्धीमाई नगरपालिकामा सडक, पुल र पोखरी सौन्दर्यीकरण गरी चारवटा योजनाको शिलान्यास गरेका छन् ।
मुख्यमन्त्री गद्दीले बौद्धीमाई नपा र मौलापुर जोड्ने मुख्य सडकको पुल, प्रदेश सरकारद्वारा प्रत्येक निर्वाचन क्षेत्रमा निर्माण हुने पाँच किलोमिटर पक्की सडक निर्माण अन्तर्गत बौद्धीमाई नपा–५ गण्डक नहरदेखि ग्वाली चोक हुँदै इनर्वा–मटिअर्वासम्मको सडकखण्ड, बौद्धीमाई नपा–४ इनरवारीस्थित शङ्करस्थान पोखरीको सौन्दर्यीकरण र इनरवारीमैं निर्माण हुने धर्मशालाको आज शिलान्यास गरेका हुन् ।
प्रदेश सरकारको लगानीमा निर्माण हुने योजनाहरूको शिलान्यास मुख्यमन्त्री गद्दीले गर्दै गुणस्तरीय कामको लागि समाज र सरोकारवाला निकायले निगरानी गर्नुपर्ने बताए । उनले विकास निर्माणको क्रममा निगरानी बढाउँदा कमसल काम हुन नपाउने र पछि आरोप लगाउनुपर्ने अवस्था पनि सिर्जना नहुने बताए । उनले तोकिएको समयमा सबै निर्माण कार्य पूरा गर्न ठेकेदार कम्पनीहरूलाई निर्देशन पनि दिए ।
कार्यक्रममा प्रदेशसभा सदस्य रामकिशोर यादव, अब्दुल कलाम आजाद, जसपा जिल्ला अध्यक्ष एवं देवाही गोनाही नपाका प्रमुख धर्मेन्द्र पटेल, बौद्धीमाई नपाका प्रमुख राजु यादवलगायको सहभागिता थियो ।