प्रमोद यादव, पचगावाँ, १५ कात्तिक/
पर्साको राष्ट्रिय वनजङ्गलमा तस्करहरूको हालीमुहाली बढेको छ । गत र चालू आवमा गरी विगत डेढ वर्षदेखि सबैको आवश्यकता पुग्ने गरी काठको सहज आपूर्ति नहुँदा तस्करी मौलाएको हो ।
डिभिजन वन कार्यालय पर्सा र विन्ध्यवासिनी कोइलाभार साझेदारी वन र गादीमाई वन व्यवस्थापन समितिको लापरवाहीले ग्रामीण क्षेत्रका बासिन्दाहरूको लागि आवश्यक काठको सहज आपूर्ति नहुँदा वनजङ्गल फँडानी बढेको हो ।
सरोकारवाला निकायले काठको समयमा नै लीलाम बिक्री गर्दा झूठो विवरण बनाएर लक्षित समुदायलाई वञ्चित पार्दै ठूला ठेकेदार, फर्निचर उद्योगीहरूलाई काठ उपलब्ध गराएकोले काठको अभाव झेल्दै आएका स्थानीयहरूले वनजङ्गल विनाश गरिरहेको पाइएको छ । तस्करहरू लीलाम बिक्रीमा पनि हाबी हुने र आवश्यकता पूरा गर्न वनजङ्गल विनाशमा सक्रिय स्थानीयवासीको आडमा जङ्गल फँडानी गर्दै आएकाले पर्साको वन असुरक्षित बन्दै गएको छ ।
समुदायले पाउने काठमा आफ्नो आधिपत्य जमाएका ठेकदार, फर्निचर उद्योगीहरूले स्थानीयबाट हुने वनविनाशमा पनि सहभागिता जनाएर ठूलो परिमाणमा वनविनाश गर्दै आएका छन् । स्थानीयले आफ्नो आवश्यकता पूरा गर्नका लागि वनविनाश थोरै मात्रामा गरिरहेका छन् भने उनीहरूको आडमा तस्करहरूले ठूलो परिमाणमा वनविनाश गरिरहेको स्थानीयहरू बताउँछन् ।
एकजना स्थानीयले समुदायबाट पाउने अधिकारबाट वञ्चित पार्दा वनजङ्गल विनाशमा लाग्नुपरेको तर त्यहाँ पनि तस्करहरू हाबी भएर आफूहरूलाई अनाहक बदनाम गराएको बताए । हामीलाई थोरै आवश्यकताको काठ उपलब्ध हुने हो भने वनजङ्गल मास्नुपर्ने कारण नै नभएको उनको तर्क थियो । यता स्थानीयले समुदायमा काठ नपाउने र उता वनविनाशको पनि आरोप लाग्ने गरेको तर तस्करहरूको लीलाम बिक्री र वनविनाश दुवैमा संलग्नता हुने गरेको उनले बताए।
जङ्गलनजीक घर भएका र जङ्गल सुरक्षामा सक्रिय सहयोग पु¥याउनेहरूलाई उनीहरूको आवश्यकता अनुसार घर निर्माण र अन्य कामको लागि काठ सम्बन्धित निकायबाट उपलब्ध नहुँदा तस्करहरूको मुख ताक्नुपर्ने अवस्था सिर्जना भएको र त्यसको फाइदा तस्करहरूले लिंदै आएको पटेर्वासुगौली गाउँपालिका–३ निवासी मुना तिवारीको आरोप छ । उनले वनविनाश रोक्नका लागि सर्वप्रथम सरोकारवालाको आवश्यकतामाथि ध्यान दिन जरुरी रहेको सुझाएका छन्।
वनविनाश नियन्त्रण नहुनुमा स्थानीयले खोजेको बेला सरकारी निकायबाट काठ नपाउनु र वीरगंजसम्म पुगेर काठको लागि निवेदन फाराम भर्दा समुदायका मानिसभन्दा अन्य कारोबारीले पाउनु मुख्य कारण भएको सखुवाप्रसौनी गापा–२ निवासी विनोद यादव बताउँछन् ।
डिभिजन वन कार्यालय पर्साका सूचना अधिकारी सहायक वन अधिकृत वशिष्ठनारायण पटेलले वनजङ्गल क्षेत्र खुला रहेको र वन कर्मचारी तस्करी रोक्न तैनाथ रहे पनि स्थानीयको असहयोगको कारण वनविनाश बढेको बताउँछन् । उनले स्थानीयको सहयोग रहेको खण्डमा वनविनाश नियन्त्रण हुने दाबी गरे ।
पटेलले डिभिजन वन कार्यालय पर्सामा १० हजार क्युफिट काठ, सबैया साझेदारीमा तीन हजार क्युफिट काठ, विन्ध्यवासिनी कोइलाभारमा ६ हजार क्युफिट काठ लीलाम हुन बाँकी रहेको र केही दिनभित्रै काठ लीलाम बिक्रीको कार्यविधि बनाएर बिक्री वितरण गर्ने तयारी रहेको बताए । उनले समुदायलाई लक्षित गरी वितरण प्रभावकारी बनाउने आश्वासन दिए ।