प्रस, वीरगंज, १५ कात्तिक/

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नालाको फोहर सफा गरेझैं पार्टीभित्रको फोहोर बेलाबखत सफा गर्नुपर्ने बताएका छन् ।

जसपा पर्साको नयाँ कार्यालय भवनको सोमवार वीरगंज–११ ओमआश्रमनजीक उद्घाटन गर्दै अध्यक्ष यादवले वीरगंजमा यसअघि उनीविरुद्ध गरिएको प्रदर्शनमा सहभागीहरूलाई पार्टीबाट कारबाई गर्ने अमुक भाषामा उनले यस्तो उदाहरण दिएका थिए । नालाको फोहोर सफा नगर्दा हुने प्रदूषणबाट जोगिनका लागि जसरी सफा गरिन्छ, पार्टीमा भएका विकारलाई पनि त्यसैगरी बेलाबखत सफा नगर्ने हो भने दुर्गन्ध बढ्छ र पार्टी कमजोर हुन्छ, उनले भने । उनले पार्टी विधानविपरीत जाने जोकोही दण्डको भागीदारी हुने चेतावनी पनि दिए ।

अध्यक्ष यादवले पार्टीका लागि सङ्गठन, कार्यालय र कोष गरी तीन कुरा आवश्यक हुने र त्यसका लागि पर्सा जिल्ला सामथ्र्यवान् भएको बताए । वीरगंज महानगरका प्रमुख विजयकुमार सरावगीले पार्टीलाई अगाडि बढाउनका लागि सबै एक भएर लाग्नुपर्ने बताए । उनले पार्टी कमजोर भएपछि नेता, कार्यकर्ता बलियो हुने भन्दै पार्टीलाई सबैले बलियो बनाउनुपर्नेमा जोड दिए ।

जसपा पर्साका अध्यक्ष रामनरेशप्रसाद यादवको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा केन्द्रीय सदस्य हरिनारायण रौनियार, फिरोज मन्सुर, विन्देश्वर यादव, वीरेन्द्रप्रसाद यादव, प्रदेशसभा सदस्य करिमा बेगम, भीमा यादव, गापा प्रमुखहरू श्रीलालसाह कानू, विजय चौरसिया, प्रदीप जयसवाल, पोखरिया नपाकी उपप्रमुख सलमा खातुनलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण सचिव तबरेज अहमदले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here