चिरञ्जीवी सापकोटा, ठोरी, १५ कात्तिक/

नेपालीहरूको महान् पर्व शुभ दीपावली तथा छठको अवसरमा ठोरी गाउँपालिका–१ मा थ्रीस्टार क्लबको आयोजनामा सोमवारदेखि तेस्रो शुभकामना नकआउट फूटबल प्रतियोगिता शुरू भएको छ।

सरस्वतीनगरको खेलमैदानमा आयोजित आज एक कार्यक्रमबीच जसपा पार्टीका केन्द्रीय सदस्य एवं प्रमुख अतिथि अञ्जन शाक्यले उद्घाटन गरे । प्रमुख अतिथि शाक्यले ठोरीले स्थानीयस्तरमा खेलाडी उत्पादन गरी राष्ट्रियस्तर खेलाडीको विकास गर्नुपर्नेमा जोड दिए । फूटबल खेल ठोरीको पहिचान बन्दै गएको हुँदा यसलाई प्रोत्साहन गर्दै आवश्यक विकासमा लाग्न सुझाए । ठोरीको विकासका लागि दलगत स्वार्थभन्दा माथि उठेर सबै राजनीतिक दल एक ढिक्का भएर लाग्नुपर्ने उनले बताए ।

उद्घाटन समारोहमा वडाध्यक्ष रामप्रकाश कुँवर, किशोर तामाङ, जसपा ठोरीका सहसंयोजक विष्णु लोप्चन, निर्मल–ठोरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बालकुमार बस्नेतलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । थ्रीस्टार क्लबका अध्यक्ष महेन्द्र तिमल्सिनाको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा आयोजक टीमका कमलविक्रम तिमल्सिनाले स्वागत समितिका जगेन्द्र पौडेलले सहजीकरण गरेका थिए ।

उद्घाटन खेलमा आयोजक थ्रीस्टार क्लब ‘बी’, ठोरी–१ लाई चौतारी युवा क्लब ठोरी–५ ले शून्यका विरुद्ध चार गोलअन्तरले पराजित गरेको थियो । खेलको मध्यान्तरपूर्व चौतारी युवा क्लबका रोहित बस्नेतले पहिलो गोल गरी अग्रता दिलाएका थिए । मध्यान्तरपूर्व नै चौतारीका सङ्गम कार्कीले दोस्रो गोल गरे भने मध्यान्तरपछि चौतारीका विशेष बस्नेत र आर्यन क्षेत्रीले गोल गरेका थिए । आजको खेलको म्यान अफ दी म्याच चौतारीका विजय योञ्जन घोषित भएको आयोजक क्लबका अध्यक्ष महेन्द्र तिमल्सिनाले बताए ।

प्रतियोगिता कात्तिक २४ गतेसम्म सञ्चालन हुने बताइएको छ । भोलिको खेल नयाँबस्ती युवा क्लब ठोरी–३ र वनशक्ति युवा क्लब ठोरी–२ बीच हुनेछ भने दोस्रो खेल निर्मल समाज क्लब ‘ए’ ठोरी–१ र भूमिशक्ति क्लब मालीबस्ती ठोरी–४ बीच हुने आयोजक समितिका जगेन्द्र पौडेलले बताए ।

१६ वटा टीमको सहभागिता रहेको खेलमा प्रथम हुने टीमलाई नगद रु ५५ हजार, उपविजेतालाई नगद रु ३० हजार, मेडल, ट्रफी तथा प्रमाणपत्र वितरण गरिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here