ओमप्रकाश चौधरी, सेढवा, १४ कात्तिक /

किसानले हिउँदे नगदेबाली रोप्ने समयमा पर्साको ग्रामीण भेगमा फेरि रासायनिक मलको हाहाकार भएको छ । यस क्षेत्रका किसानहरूले अहिले नगदे सुर्ती, तेलहन बाली अन्तर्गत तोरी र दलहन बाली अन्तर्गत मसुरो, खेसारी, केराउलगायतका बाली रोप्ने बेला रासायनिक मलको अभाव झेल्नुपरेको छ ।

अहिले आलु, काउली, बन्दा, भन्टालगायतका तरकारी बाली रोप्ने समय पनि भएकाले सो प्रयोजनका लागि किसानहरूलाई मलको आवश्यकता पर्दछ तर यही बेलामा मलको अभाव छ ।

ठोरी गाउँपालिका–५ क्षत्रीलाइनका किसान बलराम कोर्मोचाले बमौसमी वर्षाले बाली लगाउन ढिला भएको र अहिले मल नपाउँदा किसानले निकै समस्या खेप्नुपरेको बताए । अहिले यस क्षेत्रमा सुर्ती रोप्ने र तोरी छर्ने काम धमाधम भइरहेका बेला मल उपलब्ध नहँुदा किसानहरू अक्क न बक्क परेको कोर्मोचाले बताए ।

कुनै सहकारी संस्थाले भण्डारण गरेर राखेको मल पालिकाले तोकेको मूल्यभन्दा एक हजार बढी रकम लिएर बिक्री भइरहेको कोर्मोचाले आरोप लगाए ।

सखुवाप्रसौनी गापा–२ का किसान सुधीर दासले जहिले पनि किसानलाई आवश्यक परेको मल नपाउने गरेको गुनासो गरे ।

धानको बाला निस्कने बेला रु आठ सय पर्ने युरिया मल रु १८ सयमा खरीद गर्नुपरेको उनको भनाइ छ । अहिले फेरि मल उपलब्ध नहुँदा भारतीय बजार इनर्वा, भङ्गाहा, मैनाटारलगायतबाट मल ल्याउनुपरेको दासले बताए ।

यस सम्बन्धमा मारुतीनन्दन सहकारी संस्थाका सञ्चालक सत्यनारायण साहले साल्ट ट्रेडिङ कम्पनी र कृषि सामग्री कम्पनीले डिएपी मल नदिएकाले मल अभाव भएको बताए । केही मात्रामा युरिया मल आए पनि डिएपी हरि एन्ड राज इन्टरप्राइजेज, वीरगंजबाट ल्याउनुपरेको साहले बताए।

हरि एन्ड राज इन्टरप्राइजेजका सञ्चालक राजनारायण साहसँग बुझ्दा उनले भारतबाट २५ मेट्रिक टन डिएपी मल आयात गरेको र सो मल देशभरि नै पठाउने हुँदा अहिले त्यो पनि सकिएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here