प्रस, वीरगंज, १४ कात्तिक/
वीरगंजको एक किरानापसलबाट करीब १५ लाख मूल्यबराबरको सामान चोरी भएको छ । वीरगंज–१० रानीघाटस्थित प्रकाश ट्रेडिङ कन्सर्नमा शनिवार राति चोरी भएको हो ।
नीलकमल तेललगायत विभिन्न कम्पनीको वीरगंजका लागि आधिकारिक विक्रेता प्रकाश ट्रेडिङ कन्सर्नबाट १५ लाखभन्दा बढी मूल्यको करीब ४ टन खानेतेल चोरी भएको कन्सर्नका सञ्चालक प्रकाश गुप्ताले बताए । गोदामबाट राति करीब १२ बजेर ३४ मिनेटदेखि लगभग साढे २ बजेसम्ममा तेल चोरी भएको सिसिटिभी फुटेजबाट देखिएको छ ।
चोरहरूले लुकीछिपी सामान ओसारेको हुँदा फुटेजमा चोरहरूको स्पष्ट अनुहार देखिएको छैन। गोदाम सञ्चालक गुप्ताका अनुसार वीरगंजमा यति ठूलो परिमाणमा तेल चोरी हुनु सुरक्षा निकायको लापरवाही रहेको आरोप लगाए । लामो समयदेखि तेलको कारोबार गर्दै आएका प्रकाश ट्रेडिड्ढा सञ्चालक गुप्ताले चोरीबारे जिल्ला प्रहरी कार्यालय पर्सामा उजूरी गरिसकेको र छानबीनको लागि माग गरे ।
चोरीको घटनाबारे अनुसन्धान भइरहेको र चोरको खोजी तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । यो घटनाले वीरगंजमा पुनः चोरहरू रातिको समयमा सलबलाएको अनुमान गरिएको छ । दीपावली, छठको बेला अन्य व्यवसायी तथा सर्वसाधारणलाई सजग रहन व्यवसायी गुप्ताले सुझाव दिएका छन् ।