प्रस, सेढवा, १३ कात्तिक/

हिन्दूहरूको महान् चाडपर्वको समयमा पनि सामाजिक सुरक्षा भत्ता नपाउँदा लाभग्राहीहरू निराश बनेका छन् । चालू आव २०७८/७९ को पहिलो चौमासिकको ज्येष्ठ नागरिक, एकल महिला तथा दलितका लागि बाल संरक्षण र अपाङ्गहरूको भत्ता स्थानीय सरकारले वितरण गरेका छैनन् ।

जिल्लाको ठोरी, जीराभवानी, जगरनाथपुर, सखुवाप्रसौनीलगायतका पालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गरेका छैनन् । जीराभवानी गापा–१ शान्तिनगरका ज्येष्ठ नागरिक दानबहादुर श्रेष्ठले भत्ताकै भरमा औषधोपचार तथा लत्ताकपडा खरीद र चाडपर्व मान्दै आएको बताए । तर भत्ता समयमा नपाउँदा आर्थिक समस्याको सामना गर्नुपरेको श्रेष्ठले गुनासो गरे ।

सखुवाप्रसौनी गापा–१ का एकल महिला जोखनी देवीले हुनेखाने परिवारलाई सामाजिक सुरक्षा भत्ता ढिलो चाँडोले खासै फरक नपारे पनि भत्तामा आश्रितहरूले भने समस्या झेल्नुपरिरहेको बताइन् । उनले भत्ताकै पर्खाइमा बालबच्चालाई नयाँ लुगा खरीद गर्ने आश्वासन दिंदै आएको तर कात्तिक आधा पुग्न लाग्दा पनि भत्ता नपाएकोमा दुःखेसो पोखिन् । उनले चाडपर्व लक्षित गरी यसअघि भत्ता पाउने गरेकामा अहिले कात्तिकमा दीपावली, छठ पर्व नजीकिंदै जाँदा पनि भत्ताको कुनै पत्तो नभएको बताइन् । तिहारमा पनि भत्ता नपाउने हो भने आफूले ठूलो समस्याको सामना गर्नुपर्ने उनले बताइन् ।

यसबारे जगरनाथपुर गापाका लेखापाल सञ्जय पटेलले कोलिनिकाबाट सामाजिक सुरक्षा भत्ता निकासा भइसकेको र आइतवारदेखि लाभग्राहीको खातामा रकम पठाउने बताए ।

पटेर्वासुगौली गापाका प्रमुख प्रशासकीय अधिकृत सन्देश यादवले सामाजिक सुरक्षा भत्ता दुई दिन पहिले गइसकेको र बैंकले वितरण गरिरहेको बताए ।

ठोरी गापाका प्रमुख प्रशासकीय अधिकृत कृष्णलाल श्रेष्ठले नेपाल सरकारले लागू गरेको भत्ता वितरण इन्टरनेट प्रणालीको माध्यमबाट अर्थ मन्त्रालयले धान्न नसकेको र ह्याक भएकाले मन्त्रालयबाट पुरानै प्रणाली प्रयोग गरी भत्ता वितरण गर्ने निर्देशन आएकोले ढिलाइ भएको बताए। आइतवारसम्म लाभग्राहीहरूको खाता रकम जाने अधिकृत श्रेष्ठले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here