प्रस, वीरगंज, १३ कात्तिक/
नेकपा (एकीकृत समाजवादी) पार्टी वीरगंज महानगर कमिटीको आयोजनामा शनिवार वीरगंजमा दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबूराउत गद्दीले नेकपा (एस) चाँडो प्रदेश सरकारमा सहभागी हुने बताए । उनले नेकपा (एस)लाई प्रदेश सरकारमा सहभागी गराउने तयारी भइरहेको बताए । जुन पार्टीमा व्यक्तिवादी प्रवृत्ति हाबी हुन्छ, त्यो पार्टी लोकतान्त्रिक नहुने बताउँदै मुख्यमन्त्री गद्दीले यस्तो कार्यको विद्रोह गरेर बनेको एकीकृत समाजवादी पार्टीको भविष्यको उज्जवल रहेको चर्चा गरे ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टीका सचिव नागेन्द्र चौधरीले संविधानको रक्षाको लागि प्रतिगमनको विरोधमा आफुहरूले विद्रोह गरि नयाँ पार्टी गठन गरेको बताए । नेता तथा कार्यकर्ताहरू पुराना भएपनि सङ्गठन नयाँ रहेको उनको भनाई थियो । नेकपा एमालेमा व्यक्ति हावी हुँदै गएको र त्यसले लोकतन्त्र नै खतरा पर्ने सम्भावना देखिएकोले आफुहरू विद्रोह गरेर छुट्टै पार्टी बनाउनु परेको उनले बताए ।
एकीकृत समाजवादी वीरगंज महानगर अध्यक्ष मनोज चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका खानेपानी तथा उर्जामन्त्री ओमप्रकाश शर्मा, वीरगंज महानगरपालिकाकी उपमेयर शान्ती कार्की, लोहियावादी पार्टीका अध्यक्ष डा. नन्दन यादव, एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य रामचन्द्र साह, दिनेश राई, चिरञ्जीवी आचार्य, केन्द्रिय सदस्य एवं जिल्ला अध्यक्ष बालगोपाल थापा, जसपाका पर्साका सचिव तबरेज अहमद, लोसपाका नेताहरू नेजामुदिन समानी, पुरूषोतम झा, ओमप्रकाश सर्राफ, उद्योग वाणिज्य महासङघका प्रदेश अध्यक्ष गणेश लाठ, वीरगंज उधोग वाणिज्य सङ्घका अध्यक्ष डा. सुबोध गुप्ता, पुर्व अध्यक्ष अशोक टेमानी, नेपाली काङ्ग्रेस पर्साका उपाध्यक्ष दिना गुप्ता, सचिव श्याम पटेल, नेता रामनारायण कुर्मी, नेकपा माओवादी केन्द्रका नेताहरू बाबुराम कौसिक, रामबाबु बैठालगायतको सहभागिता थियो । कार्यक्रमको सञ्चालन नेकपा एकीकृत समाजवादीका वीरगंज माहानगर सचिव बृजलाल पासवानले गरेका थिए ।