प्रस, वीरगंज, १३ कात्तिक/

प्रदेश नं १ बाट आएका पर्यटन तथा होटल व्यवसायीहरूलाई वीरगंजमा स्वागत गरिएको छ ।
वीरगंज उद्योग वाणिज्य सङ्घ, नेपाल उद्योग वाणिज्य सङ्घ प्रदेश २ र पर्यटन हवाई यातायात व्यवसायी समितिले प्रदेश १ को पर्यटन तथा होटल व्यवसायी सङ्घका अध्यक्ष राजन श्रेष्ठ नेतृत्वको टोलीलाई स्वागत गरेको हो ।

नेउवासङ्घ प्रदेश २ का अध्यक्ष गणेश लाठ नेतृत्वको टोलीले स्वागत गरेको थियो । वीरगंज उद्योग वाणिज्य सङ्घमा भएको कार्यक्रममा दुवै प्रदेशको व्यवसाय प्रवद्र्धन र अन्तर्सम्बन्ध विकास गर्न जोड दिइएको थियो । सहभागीहरूले धार्मिक, सांस्कृतिक र प्राकृतिकरूपमा दुवै प्रदेशमा पर्यटनको सम्भावना प्रचुर रहेको भन्दै पूर्वाधार विकास नहुँदा यो व्यवसाय ओझेलमा परेको निष्कर्ष निकालेका थिए ।

कार्यक्रममा वीरगंजका पर्यटन, होटल उद्योगी–व्यवसायीले भारतीय पर्यटकहरूको सम्मान गर्नुपर्ने र उनीहरूलाई आकर्षित गर्न प्याकेजको व्यवस्था गर्नुपर्ने सुझाव दिएका थिए । दुवै पक्षबीच आगामी बैठक प्रदेश १ को पर्यटकीय क्षेत्र भेडेटाँडमा गर्ने सहमति भएको बताइएको छ ।

कार्यक्रममा वीउवासङ्घका अध्यक्ष डा सुबोध गुप्ता, वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्षद्वय हरि गौतम, माधव राजपाल, सचिव मनोज दास, सहसचिव अनोज रूँगटा, पर्यटन तथा हवाई यातायात समितिका सहसचिव सञ्जय अग्रवाल, नेपाल युवा उद्यमी मञ्च वीरगंजका अध्यक्ष अनुप अग्रवाल, होटल मकालुका सञ्चालक मोहन प्रधानलगायतले दुवै प्रदेशमा पर्यटकीय सम्भावना रहेको र सहकार्य गरेर अगाडि बढ्नुपनेमा जोड दिएका थिए ।

प्रदेश १ बाट होटल व्यवसायी महासङ्घका संस्थापक अध्यक्ष मनिन्द्रबहादुर कटवाल, भाविसकुमार श्रेष्ठ, महासचिव वासुदेव बराल, सुनसरी उद्योग वाणिज्य सङ्घकी एलिना मगर, बर्दिवासका होटल व्यवसायी दीपेन्द्र पराजुलीलगायत सहभागी थिए । कार्यक्रमको सहजीकरण वीउवासङ्घका प्रशासकीय अधिकृत मनोज उपाध्यायले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here