प्रस, वीरगंज, १२ कात्तिक/

शिक्षामन्त्री देवेन्द्र पौडेलले समृद्धि र विकास सरकारको मुख्य एजेन्डा रहेको बताएका छन् ।
नारायणी एफएम वीरगंजको १६औं वार्षिकोत्सव समारोहमा उनले देश सङ्घीयतामा गइसकेको र समृद्धि र विकासको लागि संविधानमा समावेशी आधारमा सबैको हकअधिकार सुनिश्चित हुनुपर्नेमा केही हक पाएको र केही हक नपाएको भन्दै उनले आगामी दिनमा संविधान संशोधन गर्ने कार्य बाँकी रहेको बताए ।

उनले मधेसको माग र विकास जबसम्म पूरा हुँदैन, तबसम्म देश विकसित र समृद्ध नहुने भएकोले मधेसको हकअधिकारको लागि पनि संविधान संशोधन गरी देशलाई सम्पन्न बनाउनेतिर सरकारको ध्यान रहेको बताए ।

उनले वीरगंज भ्रमणको क्रममा त्रिजुद्ध मावि र एक मदर्साको अवलोकन गरी शिक्षाको गुणस्तरबारे जानकारी लिएको बताए । मन्त्री पौडेलले निजी क्षेत्रका विद्यालय सञ्चालक तथा शिक्षकहरूको पनि समस्याबारे आफूले सुझाव सङ्कलन गरेको भन्दै वीरगंजका नगरप्रमुख विजयकुमार सरावगीले गरेको पछिल्लो चार वर्षे कार्यकालको प्रशंसा पनि गरे । उनले नगरप्रमुख सरावगीले कोभिडको बेला खेलेको भूमिका, भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षालगायत क्षेत्रमा गरेका कामको पनि प्रशंसा गरे ।

मन्त्री पौडेलले रेडियो सूचना सम्प्रेषणको सबैभन्दा सरल र सहज माध्यम हुनुका साथै निरक्षरलाई पनि सूचना दिने माध्यम भएको बताए । उनले सञ्चारका अन्य माध्यमभन्दा रेडियो धेरैअघिदेखि यसै कारण सबैका लागि सूचनाको पहुँच भएको साधन बनेको बताए ।

प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साहले प्रदेश सरकार प्रदेशका सञ्चारगृहको लागि सदैव सहयोगी बन्ने दाबी गरे । उनले सत्यतथ्य सूचना सम्प्रेषण गर्नु हरेक सञ्चारमाध्यमको धर्म भएकोले पनि भ्रामक सूचना स्रम्प्रेषण नगर्न अपील गरे ।

नारायणी एफएमका कार्यकारी निर्देशक गोविन्द देवकोटाको अध्यक्षता र पत्रकार लक्ष्मी खरेलको सहजीकरणमा सम्पन्न कार्यक्रममा नगरप्रमुख विजयकुमार सरावगी, रेडियोका संस्थापक अध्यक्ष रमेशकुमार भट्टराई, संस्थापक स्टेशन म्यानेजर डा शिव तिवारी, समाचार प्रमुख क्रान्ति साहलगायत विभिन्न क्षेत्रमा योगदान पु¥याएका १२ जनालाई प्रशंसापत्रसहित सम्मानित गरिएको थियो ।

कार्यक्रममा पर्साका प्रजिअ उमेशप्रसाद ढकाल, प्रउ बेलबहादुर पाण्डे, सशस्त्र प्रउ राजेन्द्र खडका, एकीकृत समाजवादी पार्टीका नेता दिनेश राई, माओवादी केन्द्रका रहबर अन्सारीलगायतको सहभागिता थियो । कार्यक्रममा कोरोना महामारीमा सङ्क्रमित भएका रेडियोका पाँचजना कर्मचारीलाई पनि सम्मानित गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here