प्रस, गरुडा, १२ कात्तिक/
रौतहटको गरुडा बजारमा शुक्रवार बिहान एउटा थोक मेशिनरी तथा मोबिल पसलमा आगलागी हुँदा करोडौं मूल्यको क्षति भएको छ । आगलागीले पसलका सम्पूर्ण सामान नष्ट हुनुका साथै दुई तले पक्की घरसमेत क्षतिग्रस्त बनाएको छ । प्रारम्भिक अनुमानमा दश करोड मूल्यको क्षति भएको पसलका सञ्चालक एवं घरधनी शशीभूषण साहले बताए ।
राति विद्युत् सर्ट भई आगो लागेको हुन सक्ने व्यवसायी शशीभूषणका पिता नवलकिशोर साहले आशङ्का व्यक्त गरे । गरुडा उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष साहले दमकल समयमा आउन सकेको भए ठूलो क्षति हुन नपाउने बताए ।
करीब पौने पाँच बजे बिहान इलाका प्रहरी कार्यालयको टोली आगलागी भएको ठाउँमा पुग्दा आगोको मुस्लो र धूवाँले आकाशै छोएको जस्तो थियोे । घरभित्र लागेको आगोले पसलको सटर तातेर पूरै रातै भएको घटनास्थलमा पुगेर आगलागीलाई नियन्त्रणमा खटेका प्रहरी जवान विजय यादवले बताए ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीका साथै स्थानीयवासीको सहयोगमा बिहान ६ बजे आगो नियन्त्रणमा आएको थियो । दमकल नआउँदासम्म ठूलो आगोको मुस्लोको कारण बाँसको सहयोगले पसलको सटर फुटाउने प्रयासबाहेक प्रहरीले पनि केही गर्न सकेको थिएन ।
जिल्लाको मध्यभागमा ठूलो बजार गरुडालाई जिल्लाको आर्थिक केन्द्र पनि भनिन्छ तर आगलागीको घटना हुँदा २२ किलोमिटर दक्षिण सदरमुकाम गौरबाट वा २० किलोमिटर उत्तर चन्द्रनिगाहपुरबाट दमकल आउनुपर्दछ । मध्यरौतहटको गरुडा, माधवनारायण, कटहरिया, गढीमाईलगायतका नगरपालिकामा दमकल छैन । टाढाबाट दमकल आइपुग्न समय लागेकोले घर र पसलमा धेरै क्षति भएको हो ।
स्थानीय सरकारले दमकल राखेको भए यतिको क्षति हुँदैनथ्यो भन्दै स्थानीयले आक्रोश पोखेका छन् । घटनास्थलको निरीक्षण गर्न प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीको नेतृत्वमा आएको सुरक्षा प्रमुखहरूसित स्थानीयले मध्यरौतहटमा दमकलको व्यवस्था गराउन पहल गरिदिन आग्रह गरे ।
प्रमुख जिल्ला अधिकारी शाहीले आफूले सक्दो पहल गर्ने आश्वासन दिए । दमकलको अभावमा जीवनभरको कमाइ र ऋण लिएर बनाएको घर तथा पसल खरानी भएकोमा साह परिवारलाई निकै पीडा भएको छ ।