प्रस, निजगढ, १२ कात्तिक/
बाराको निजगढ नगरपालिका–८ का मनोज भारतीले कोरोना बीमाबाट प्राप्त रकम गरीब विद्यार्थीहरूको पोशाक र ब्यागमा खर्चेका छन् ।
शुक्रवार निजगढ नपा–७ स्थित नेत्रोदय माविमा अध्ययनरत विद्यार्थीहरूलाई करीब १ लाख ५० हजार मूल्यबराबरको पोशाक र ब्याग उनले वितरण गरे । उनले गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि आगामी दिनमा सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
विद्यालयमा अध्ययनरत कुल ३८० जना विद्यार्थीमध्ये न्यून आय भएका असहाय, विपन्न, मजदूर परिवारका एक सयभन्दा बढी विद्यार्थीले भारतीको सहयोग पाएको विद्यालयका प्रधानाध्यापक एकबहादुर रस्तानी मगरले बताए । युवा व्यवसायी एवं समाजसेवी भारतीले गरेको समाजसेवाबाट अरूले पनि प्रेरणा लिनुपर्ने कार्यक्रमकी प्रमुख अतिथि उपप्रमुख लीलादेवी लामिछाने खनालले बताइन् ।
छोराको समाजसेवाप्रतिको भावना देखेर युवा व्यवसायी भारतीका बुबा रामबहादुर भारती र आमा सावित्री भारती पनि निकै खुशी छन् ।