प्रस, वीरगंज, ७ कात्तिक/

तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको पर्साको विन्ध्यवासिनी गाउँपालिका कमिटीको शपथग्रहण कार्यक्रममा भाटा प्रहार गरी हत्या गरिएका मुकेश चौरसियालाई शहीद घोषणा गर्न नेकपा माओवादी केन्द्रका नेताहरूले माग गरेका छन् ।

विन्ध्यवासिनी गापा–२ बहुअर्वाभाटामा आइतवार स्व चौरसियाको पहिलो वार्षिक पुण्यतिथिमा वक्ताहरूले चौरसियालार्ई शहीद घोषणा गर्न माग गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साहले स्व चौरसियाका हत्याराहरूलाई कानूनी कारबाई हुनुपर्ने बताए । उनले घटना दुःखद भएको र त्यसमा संलग्नहरूलाई कानूनी दायरामा ल्याउनुपर्ने माग गरे ।

नेकपा माओवादी केन्द्र बाराका अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठले चौरसियाको हत्या राजनीतिक भएको जिकिर गर्दै शहीद घोषणा गर्न सरकारसित माग गरे । उनले स्व चौरसियाको योगदानलाई कदर गर्दै आगामी स्थानीय तहको चुनावमा माओवादी केन्द्रले उनको परिवारलाई चुनावमा टिकट दिनुपर्ने माग गरे ।

कार्यक्रममा तत्कालीन नेकपाका विन्ध्यवासिनी गापा अध्यक्ष तथा नेकपा एकीकृत समाजवादी पार्टीका गापा अध्यक्ष विक्रम चौरसियाले नेकपाको शपथग्रहण कार्यक्रममा पूर्वनियोजितरूपमा चौरसियाको हत्या भएकोले संलग्नहरूलाई कडा कारबाई हुनुपर्ने बताउँदै शहीद घोषणा गर्नुपर्ने माग गरे ।

उनले चौरसियाका परिवारलाई क्षतिपूर्ति र एकमात्र नाबालक छोराको शिक्षादीक्षा निश्शुल्क गर्न पनि माग गरे । कार्यक्रममा विन्ध्यवासिनी गापा प्रमुख श्रीलाल साहले चौरसियाको हत्याले पूरै गापा दुःखित बनेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here