प्रस, वीरगंज, ७ कात्तिक/
सामुदायिक सेवा केन्द्र मुर्ली र वडा प्रहरी कार्यालय श्रीपुरको संयुक्त आयोजनामा वीरगंज महानगरपालिका–१० हरपतगंजमा महिला हिंसा, घरेलु हिंसा, बालविवाहसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा घरेलु हिंसा र बोक्सी आरोपसम्बन्धी कसूरबारे नेपाली काङ्ग्रेसका स्थानीय नेता धीरज गुप्ताले बोक्सीको आरोपमा गाली बेइज्जती गर्ने, आरोपितका परिवारसमेतसँग अपमानजनक व्यवहार गर्ने, सामाजिक बहिष्कार गर्ने, गाउँघरबाट निकालावास गर्ने, धामीझाँक्रीको भरमा टुनामुना, तन्त्रमन्त्र र झारफुकको माध्यमबाट बोक्सीको आरोप सहनुपर्ने, आरोपितलाई सामाजिक सजाय दिने क्रममा अभद्र व्यवहार गर्ने, मुण्डन गर्ने, कालोमोसो दल्ने, विष्टा खुवाउने र नग्न पारेर गाउँटोला घुमाउने जस्ता कानूनविपरीत कार्यहरू भइरहेको बताए ।
उनले यस प्रकारका गतिविधिहरू कानूनतः दण्डनीय अपराध भएकोले यस्ता कार्य गर्नेहरूलाई ऐन कानूनमा दण्ड सजायको व्यवस्था रहेको बताए । यसैगरी, घरेलु हिंसा नियन्त्रण गर्ने सम्बन्धमा बनेको ऐनमा पनि व्यक्तिको सुरक्षित र सम्मानजनक तवरले बाँच्न पाउने अधिकारविपरीत हुने कसूरमा नेपालको अन्तरिम संविधान २०६३ को धारा ८३ को उपधारा (१) मा व्यवस्था गरिएको बताए ।
कार्यक्रम नेका बुथ एकाइ समिति हरपतगंजका अध्यक्ष हरिचन्द्र यादवको अध्यक्षतामा भएको थियो भने अरुण पुरी, सुरेन्द्र यादव, अध्यानन्द मिश्रलगायतले मन्तव्य व्यक्त गरेका थिए ।