प्रस, परवानीपुर, ५ कात्तिक/

नेपाल पत्रकार महासङ्घ प्रदेश २ का उपाध्यक्ष रामानन्द गुप्ता जीवितै रहेको खुलेको छ ।
सिराहा, लहानका बासिन्दा गुप्ता केही दिनदेखि बिरामी थिए । उनको विराटनगरस्थित न्यूरो हस्पिटलमा उपचार चलिरहेको थियो । चिकित्सकले उनको अवस्था सिकिस्त रबाँच्ने अवस्था न्यून भएपछि परिवारजनलाई घर लैजान सुझाएका थिए ।

त्यसपछि उनलाई अक्सिजनमा राखेर घर लगियो । त्यसपछि उनको निधन भएको खबर एक कान दुई कान मैदान भयो । थुप्रै समाचार पोर्टल र सामाजिक सञ्जालमा उनलाई श्रद्धाञ्जलि दिइनेहरूको ओइरो लाग्यो ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबू राउत गद्दी पनि के कम ? उनले पनि विज्ञप्ति निकालेर श्रद्धाञ्जलि दिइहाले । तर पत्रकार महासङ्घ प्रदेश २ का उपाध्यक्ष गुप्ता हाल जीवितै रहेको र उपचारको क्रममा फेरि घरबाट विराटनगरको एक अस्पतालमा लगिएको सिराहाका पत्रकार सुरेन्द्र काम्तीले बताए । “उनको अवस्था नाजुक छ, घर आएपछि उनी आफैं आफ्नो खुट्टामा उभिन खोजेका थिए,” उनले भने, “निधनको समाचार लेख्ने साइटहरूले समाचार सच्याएर फेसबुकमा लेखेको श्रद्धाञ्जलि डिलिट गरेका छन् ।” नेपाल पत्रकार महासङ्घ प्रदेश २ का महासचिव श्याम बन्जाराले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भ्रामक र गलत समाचार र अभिव्यक्ति आएको स्पष्ट पारे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here