प्रस, परवानीपुर, ५ कात्तिक/
लेडिज सर्कल वीरगंज नेपालको सहकार्य र नेपाली युवा उद्यमी वीरगंज च्याप्टरको आयोजनामा शुक्रवार वीरगंजमा प्रथम महिला उद्यमी सम्मेलन सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन प्रदेश २ का खानेपानी तथा ऊर्जामन्त्री ओमप्रकाश शर्माले गरेका थिए । कार्यक्रममा उनले महिला उद्यमीविना देशको सकारात्मक आर्थिक वृद्धि हुन नसक्ने भएकोले महिलाहरूलाई उद्यम गरी आफ्नै खुट्टामा उभिन आग्रह गरे । उनले महिलाहरू पनि पुरुषसमान भएकाले उद्यम गर्ने महिलाहरूको लागि प्रदेश २ सरकारले सक्दो सहयोग गर्ने बताए ।
कार्यक्रममा वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुबोध गुप्ताले यस्तो कार्यक्रमले स्टार्टअप गर्ने महिला उद्यमीलाई ऊर्जा मिल्ने र आगामी बाटो सहज बन्दै जाने बताए । उनले महिला उद्यमीहरूको हौसला बढाउने कार्यक्रम सराहनीय भएको बताए ।
नेपाली युवा उद्यमी मञ्च वीरगंजका अध्यक्ष अनुप अग्रवालको अध्यक्षतामा भएको कार्यक्रममा पाँचवटा सत्रमा सफल तथा अनुभवी महिला उद्यमी तथा विज्ञहरूबीच अन्तक्रिया भएको थियो ।
कार्यक्रममा लेडिज सर्कल वीरगंज नेपालकी निवर्तमान अध्यक्ष रश्मी दास, कर्पोरेट प्रशिक्षिका इच्छा मल्ल, सामाजिक अभियन्ता कञ्चन झा, अन्तरप्रेरणाका निर्देशक नीरज खनाल, कारखानाका निर्देशक पवित्र गौतम, सफल महिला उद्यमी स्मृति पोखरेल, यशोदा गौतम, सोनी महतो, रुबि चिमोरिया, इसानिका टिबडेवाल, सिमरन चौरसियालगायत अन्तक्रियामा सहभागी थिए । कार्यक्रममा १० जना महिला उद्यमीलाई सम्मानित गरिएको थियो ।
कार्यक्रममा पत्रकार रितेश त्रिपाठी र विवेक कर्णले सहजीकरण गरेका थिए ।