प्रस, वीरगंज, ५ कात्तिक/
केन्द्रले निधारण गरेबमोजिम वडा अधिवेशनको अवधि छोटिंदै गर्दा नेकपा एमालेले वडा भेला तथा अधिवेशनलाई तीव्रता दिएको छ । यस क्रममा शुक्रवार पर्साका विभिन्न चार स्थानमा वडा भेला सम्पन्न भएको सो पार्टीले जनाएको छ ।
वीरगंज महानगरपालिका वडा नं १७ को वडा भेला अलौंमा सम्पन्न भयो । एमाले पर्साका अध्यक्ष प्रभु हजरा संविधानसभा सदस्य प्रद्युम्न चौहान सहभागी भेलाले हरेराम पटेलको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन गरेको छ ।
कार्यक्रममा पार्टीका प्रदेश सदस्य नवराज शर्मा, जिल्ला कमिटी सदस्य उस्मान अन्सारी, अफजल हुसेन असौडी, वीरगंज महानगर कमिटीका अध्यक्ष राजेन्द्र यादव, प्रेस चौतारी पर्साका आशिक अन्सारीलगायतले शुभकामना मन्तव्यका व्यक्त गरेका थिए ।
त्यसैगरी, वीरगंज–११ को वडा भेला श्रीपुर धर्मशालामा सम्पन्न भयो । सो पार्टीका केन्द्रीय सदस्य निर्मला देवकोटा र जिल्ला अध्यक्ष हजराको सहभागितामा भेलाले प्रयाग महतोको अध्यक्षतामा वडा कमिटी गठन गरेको छ ।
वडा नं ११ का अध्यक्ष तथा एमाले जिल्ला कमिटीका सदस्य प्रद्युम्न सेढाईंले सहजीकरण गरेको कार्यक्रममा महानगर कमिटीका सचिव सुन्दरप्रसाद कुर्मी, केन्द्रीय प्रचार विभागका सदस्य अरविन्द सिंह, पेशागत महासङ्घका प्रदेश सदस्य रामदेव दासलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
यसैगरी, महानगरको वडा नं ३२ मा पनि शुक्रवार नै वडा भेला सम्पन्न भएको नेकपा एमाले पर्साले जनाएको छ । वडाको परसवामा सम्पन्न भेलाले चुरण गौरोको अध्यक्षतामा वडा कमिटी गठन गरेको छ । पार्टीका केन्द्रीय सदस्य देवकोटा र जिल्ला अध्यक्ष हजराको सहभागितामा भेलाले महानगर कमिटी सचिव कुर्मी, अध्यक्ष राजेन्द्र यादव, नेताहरू रियाजुल अन्सारी, राजकुमार राम, अफताब अन्सारीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कात्तिक ६ गतेसम्म वडा भेला तथा अधिवेशन सम्पन्न गरी वडास्तरीय नेतृत्व चयन गरिसक्नुपर्ने पार्टीको केन्द्रीय निर्देशन अनुसार वडा भेला अन्तिम चरणमा पुगेको जिल्ला अध्यक्ष हजराले बताए । जिल्लाका सबै स्थानमा शान्तिपूर्णरूपमा भेला सम्पन्न भइरहेको उनले जानकारी गराए । कात्तिक ९ गतेसम्म पालिकास्तरको अधिवेशन पनि सम्पन्न गरिसक्ने एमालेको कार्यतालिका छ ।