प्रस, सेढवा, ४ कात्तिक/

सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरूको तलब स्थानीय तहमैं फरक पर्दा सरोकारवाला निराश भएका छन् । सङ्घीय सरकारले ल्याएको चालू आर्थिक वर्षको बजेट अनुसार विद्यालयका बालविकासका सहयोगी कार्यकर्ता तथा परिचरको तलब १५ हजार रुपियाँ कायम गरे पनि पर्साका अधिकांश स्थानीय तहका विद्यालयका कर्मचारीहरूले सो अनुसार तलब नपाएको गुनासो गरेका छन् ।

बजेट अनुसार सङ्घीय सरकारले प्रत्येक कर्मचारीका लागि आठ हजार र बाँकी सात हजार स्थानीय सरकारले व्यवस्थापन गर्नुपर्ने हो, जुन पर्साको १४ वटा स्थानीय तहमध्ये वीरगंज महानगरपालिका र जीराभवानी गाउँपालिकाले मात्र तोकेबमोजिम तलब दिएका छन् ।

पटेर्वासुगौली र छिपहरमाई गाउँपालिकाले विद्यालय कर्मचारीलाई मासिक आठ हजार रुपियाँ मात्र तलब दिएका छन् । यीबाहेक थप दुई पालिकाहरूले तिहार अगाडि बाँकी सात हजार रुपियाँ दिने जनाएका छन् । सखुवापरसौनी गाउँपालिकाले पनि कर्मचारीको तलब ८ हजारका दरले मात्रै दिएको त्यहाँका कर्मचारीहरूले गुनासो गरेका छन् । बाकी रकम दिने–नदिने कुनै सूचना नआउँदा कर्मचारीहरू चिन्तामा परेका छन् ।

तलब–भत्ता भुक्तानी दिन नसकेको ठोरी, जगरनाथपुर, कालिकामाई, पकहा मैनपुर गाउँपालिका तथा पोखरिया र पर्सागढी नगरपालिकाका विद्यालय कर्मचारीहरू कुन दरको तलब निकासा हुने हो भन्ने चिन्तामा छन् ।

शिक्षक महासङ्घ ठोरीका अध्यक्ष अमृत श्रेष्ठले सरकारले तोकेबमोजिम विद्यालय कर्मचारीलाई तलब नदिए आन्दोलन गर्ने जनाएका छन् ।

यस सम्बन्धमा शिक्षक महासङ्घ पर्साका अध्यक्ष तीर्थराज यादवले शिक्षक तथा कर्मचारी हक हित संरक्षणका लागि स्थानीय तहमैं महासङ्घ रहेको बताए । पालिकास्तरीय महासङ्घले शिक्षक तथा कर्मचारीहरूको हकहित संरक्षण गर्न नसके जिल्ला स्तरबाट सहयोग गर्ने अध्यक्ष यादवले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here