प्रस, जनकपुरधाम, ४ कात्तिक/

डा. सिके राउतको नेतृत्वमा रहेको जनमत पार्टीका कार्यकर्ताले बिहीवार जनकपुरधामस्थित खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका निमित्त प्रमुखलाई हिलो दलेर पैदल मार्च गराएका छन् ।

लाठी र बाँसको भाटासहित खानेपानी तथा ढल व्यवस्थापन कार्यालय पुगेका पार्टीका कार्यकर्ताले उक्त कार्यालयका निमित्त प्रमुख जागेश्वर कुशवाहालाई कार्यकक्षबाटै नियन्त्रणमा लिएर दुव्र्यवहार गर्दै पैदल मार्च गराएका हुन् । उनीहरूले कार्यालयदेखि जनकपुरधाम उपमहानगरपालिकासम्म प्रमुख कुशवाहालाई अर्धनग्न अवस्थामा पैदल हिंडाएका थिए ।

कुशवाहाको शरीरमा हिलो दल्दै जनमतका कार्याकर्ताले उनको सर्टसमेत च्यातेर अर्धनग्न बनाएका थिए । जनकपुरधाममा जथाभावी सडक खनेको महीनौं बितिसक्दा पनि निर्माण नगरेको भन्दै जनमत पार्टीका कार्यकर्ताले पटक–पटक प्रदर्शन गर्दै आएका थिए । खनिएको खाल्डो त्यसै छाडिएको छ । निर्माण अघि नबढाएको विषयमा उपमहानगरपालिका र खानेपानी तथा ढल निकास कार्यालयले एक अर्कालाई दोष दिने गर्दै आएका छन् ।

कार्यालय प्रमुख कुशवाहालाई दुव्र्यवहार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय धनुषाले १० जनालाई नियन्त्रणमा लिएको छ । आफ्नो दश जनाभन्दा बढी कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको जनमत पार्टीको केन्द्रीय सचिवालयले जनाएको छ ।

पार्टी कार्याकर्तालाई प्रहरीले नियन्त्रणमा लिएपछि सो पार्टीका नेता कार्याकर्ताहरू ठूलो सङ्ख्यामा जिल्ला प्रहरी कार्यालय अगाडि धर्ना दिएका थिए । साँझसम्म धर्ना जारी रहे पनि पक्राउ परेकाहरूलाई प्रहरीले मुक्त गरेको छैन ।

जनमत पार्टीले भने जनहितविपरीत काम गरेकाले पटक–पटक सचेत गर्दै चेतावनीपछि जनकारबाई गरेको जनाएको छ । आफ्नो पार्टीको कारबाईमा नगरवासीको साथ रहेको उक्त पार्टीको दाबी छ । पक्राउ परेकाहरूलाई रिहाइ र भ्रष्टाचारीलाई कारबाई नगरे ेअझ सशक्त कार्याक्रम घोषणा गरिने सो पार्टीले चेतावनी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here