फोहरबाट मोहर बनाउने वीरगंजको धेरै पुरानो सपना हो । फोहरलाई मोहर बनाउने मुख्यतः दुई तरीका छन्, कुहिने वस्तुबाट प्राङ्गारिक मल बनाउने र नकुहिने वस्तुलाई रिसाइकलमा पठाउने । सोही प्रयोजनका लागि बितेको डेढ वर्षदेखि फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएको छ। करीब ५५ करोड रुपैयाँको लागतमा निर्मित केन्द्रले सोचेजस्तो मोहर आर्जन गर्न नसकेको भन्ने गुनासो पनि छ । केन्द्रले कुहिने फोहरबाट प्राङ्गारिक मल तयार गर्दै बिक्री गरिरहेको छ तर नकुहिने वस्तु पर्याप्त मात्रामा पाउन नसकेको केन्द्र सञ्चालनमा सहभागीहरूको गुनासो हो । महानगर क्षेत्रमा दैनिक सरदर ५० देखि ६० टनसम्म फोहर सङ्कलन भएपनि रिसाइकल अथवा पुनः प्रयोगमा आउने फोहरको मात्र न्यून छ । प्राङ्गारिक मलमा भन्दा रिसाइकलमा पठाइने नकुहिने फोहरबाट बढी मोहर आर्जन हुन्छ । महानगरवासीले विसर्जित फोहर केन्द्रमा नपुगी फोहर उठाउने बोरावालाहरूमार्फत कबाडमा पुगिरहेको छ । उनीहरूले महानगर क्षेत्रबाट दैनिक तीन लाख रुपैयाँभन्दा बढी मूल्यको नकुहिने फोहोर सङ्कलन गरेर कबाडमा पु¥याउने गरेको अध्ययनले देखाएको छ ।
वीरगंज क्षेत्रमा १५० आसपासमा बोरावालाहरूको ठेला छ । ठेला भएका र नभएकासमेत २५० जनाभन्दा धेरैले नकुहिने फोहोर सङ्कलन गरिरहेका छन् । यसमा बालकदेखि वृद्ध उमेर समूहका समेत सहभागी छन् । फोहर सङ्कलनको मुख्य उद्देश्य नगर सफा र स्वस्थ राख्नु हो । एक स्थानबाट फोहर उठाएपछि कुनै न कुनै अर्कोे स्थानमा विसर्जन गर्नैपर्छ । यसरी विसर्जन गर्दा स्थानीयको विरोध आउने, वातावरणमा प्रतिकूल असर पर्ने साथै डम्पिङ साइटका लागि ठाउँ नपाउने र पाएका ठाउँहरू पनि भरिंदै जाने हुँदा बारम्बार समस्या दोहोरिन्छ । केन्द्र सञ्चालनबाट वीरगंज यो ठूलो समस्याबाट मुक्त भएको छ । हामीले उपलब्धि र सन्तुष्टि यसैलाई मान्नुपर्छ । केन्द्रमा उत्पादित प्राङ्गारिक मल बिक्रीबाट केही मुद्रा आर्जन पनि भइरहेको छ भने प्रयोगकर्ता कृषकले सहज र सहुलियत मल पाएका छन् ।
नकुहिने फोहर सङ्कलन गर्ने बोरावालाहरू केन्द्र निर्माणभन्दा धेरै पहिलेदेखिका हुन् । नगर स्थापनासँगै उनीहरूको इतिहास जोडिएको छ । उनीहरूले उहिलेदेखि नै फोहरबाट मोहर बनाउन थालेका हुन् । यसरी ठेला तथा बोरामा फोहर सङ्कलन कार्यबाट करीब २५० जनाले रोजगार पाएका छन् । सोही सङ्ख्याका घरधुरीको जीविकोपार्जन चलेको छ, जुन सकारात्मक पक्ष हो । नकुहिने फोहरको कारण नाला जाम हुने र डुबान समस्या निम्तिने साथै प्रदूषण बढ्ने गर्छ । रकम खर्चिएर सफा गराउनुपर्नेमा बोरावाला सङ्कलनकर्ताहरूले निश्शुल्करूपमा फोहर सङ्कलन गरेर सरसफाइमा योगदान पु¥याइरहेका छन, यो अर्को महŒवपूर्ण पक्ष हो । तर ती फोहर सङ्कलन गर्नेहरूबारेमा भने आजसम्म कसैले पनि सोचेको छैन । उनीहरूलाई व्यवस्थित गर्न जरुरी छ । बोरामा फोहर सङ्कलन गर्नेहरूको लगत सङ्कलन गरी पहिचान दिने र उनीहरूको शिक्षा, स्वास्थ्य, सुरक्षा एवं पेशागत मर्यादाका लागि पहल गर्नुपर्छ । सुरक्षित तरीकाले फोहर सङ्कलन गर्ने विधिबारे जानकारी गराउँदै आवश्यक सामग्री उपलब्ध गराउनेतर्फ पनि महानगरलगायत सरोकारवाला पक्षले योजना बनाउनुपर्छ ।