प्रस, वीरगंज, २ कात्तिक/

पर्सा, बारासँगै प्रदेश २ मा बुधवारदेखि पेट्रोल आपूर्ति सहज हुने बताइएको छ । नेपाल आयल निगमका अधिकारीका अनुसार भोलिदेखि पेट्रोल सहजरूपमा पाइने दाबी गरे ।

नेपाल आयल निगम वीरगंजका प्रमुख पवन यादवले भने, “चार दिन भन्सार, बैंक तथा अन्य कागजी प्रक्रिया हुन सकेन, जसले गर्दा करीब सात दिनदेखि पेट्रोल आएको छैन,” उनले भने, “दैनिक १५ गाडी पेट्रोल पर्सा र बारामा खपत हुन्छ, तर माग अनुसार आपूर्ति नभएपछि अभाव देखिएको हो ।”

पेट्रोल पम्पमा पेट्रोल नपाउँदा उपभोक्ताहरू समस्यामा परिरहेका छन् । अतिआवश्यक एम्बुलेन्सले पनि नेपालमा पेट्रोल नपाउँदा भारतीय सीमावर्ती बजारमा गई इन्धन भरिरहेका छन् । गत तीन दिनदेखि अभाव खड्किएको हो, एक थोपा पनि पेट्रोल छैन, केही एम्बुलेन्स, मोटरसाइकल, कार भारतबाट पेट्रोल भरेर आइरहेको प्रमुख यादवले स्पष्ट पारे । अहिले बरौनीबाट पेट्रोल ल्याएर अमलेखगंज डिपोमा भण्डारण गरेपछि पर्सा, बारा क्षेत्रका पम्पहरूले पाउने हुन् ।

प्रमुख यादवले मङ्गलवार ८० वटा ट्याङ्कर पेट्रोल भर्न बरौनी गएको र भोलि अपराह्नदेखि अवस्था सामान्य बन्दै जाने बताए ।

“पहिलेको स्टकबाट अमलेखगंज डिपोले पहाडी जिल्ला र काठमाडौं उपत्यकाका पेट्रोल पम्पलाई पेट्रोल दिएको थियो, मङ्गलवार रातिसम्म करीब डेढ लाख लिटर पेट्रोल आउनेछ,” उनले भने । लामो बिदा भएर कागजी प्रक्रिया पूरा नहुँदा पेट्रोल ल्याउन नसकिएको उनको जिकिर थियो ।

आगामी दिनमा यस्तो समस्या सिर्जना हुन नदिन सरकारले पहिलेदेखि पेट्रोलको पर्याप्त भण्डारण गरी वितरण गर्नुपर्ने उनको सुझाव छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here