काठमाडौं, २ कात्तिक/रासस
एएफसी यू–२३ एसियन कप छनोट खेल्न नेपाली यू–२३ टोली मङ्गलवार ताजिकिस्तान प्रस्थान गरेको छ । एएफसी यू–२३ एसियन कप छनोट यही कात्तिक ८ देखि १४ गतेसम्म हुँदैछ।

छनोटमा नेपाल समूह ‘बी’मा परेको छ । सो समूहमा नेपालसहित ताजिकिस्तान, इरान र लेबनान छन् । नेपालले समूह चरणको पहिलो खेलमा कात्तिक ८ गते इरानसँग खेल्नेछ । त्यस्तै, दोस्रो खेल कात्तिक ११ गते ताजिकिस्तानसँग खेल्नेछ भने अन्तिम खेल कात्तिक १४ गते लेबनानसँग प्रतिस्पर्धा गर्नेछ । एएफसीले प्रतियोगिताको छनोटमा सहभागी ४१ टोलीलाई विभिन्न ११ समूहमा विभाजन गरिएको छ ।

छनोटका ११ समूहको शीर्ष टोलीले एएफसी यू–२३ एसियन कप खेल्नेछन् भने दोस्रो टोलीमध्ये उत्कृष्ट चार टोली पनि यू–२३ एसियन कपमा छनोट हुनेछन् । प्रतियोगिता सन् २०२२ को जून १ देखि १९ सम्म उज्बेकिस्तानमा हुने तालिका छ ।

नेपालले हालसम्म एएफसीको यू–२३ एसियन कप प्रतियोगिताको छनोट चरण पार गर्न सकेको छैन । छनोटका लागि मुख्य प्रशिक्षक बालगोपाल महर्जनले आइतवार २३ सदस्सयीय नेपाली टोलीकोे घोषणा गरेका थिए । टोलीमा अर्पण कार्की, विशाल सुनार, अभिषेक बराल, सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ, रन्दीप पौडेल र अनिल महर्जन छन् ।

त्यसैगरी, अभिषेक लिम्बू, नितिन थापा, सुरज ठकुरी, आयुष घलान, सेसेहाङ आङ्देम्बे, राजीव लोप्चन, शिशिर लेखी, आकाश बूढामगर, रोशन पहाडी, ऋतिक खड्का, मनीष डाँगी, अभिषेक रिजाल, दर्शन गुरुङ र एरिक विष्ट टोलीमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here