प्रस, सेढवा, १ कात्तिक/

धानबाली भिœयाउने बेलामा सोमवार बिहान पानीसँगै तीव्र गतिमा चलेको हावाका कारण धानबालीमा क्षति पुगेको छ । जीराभवानी गापा–२ सेढवा निवासी किसान प्रेमनारायण महतोले पाकेको भदई मन्सुली धान कटानी गरी खेतमैं राखेको अवस्थामा पानीले नोक्सान गरेको बताए । धान समयमैं खेतबाट निकाल्न नपाए भोलि नै उम्रिने महतोले गुनासो गरे ।

त्यस्तै, सोना मन्सुली तथा मोटरी मन्सुली धानका बालालाई हुरीले ढालेको छ । धानको बालामा दाना लागिरहेको बखत टुप्पो भारी भएर हावाले धानको बाला ढालेकाले उत्पादनमा निकै ¥हास आउने किसानहरूले बताए ।

सोना मन्सुली धानको बाला निस्किने बेला परेको पानीले बालामा भएका फूलहरू झर्दा बालामा दाना नलागी खखरा हुने चिन्ताले सताएको पटेर्वासुगौली गापा–३ का भागवत चौधरीले बताए । त्यस्तै, यो पानीले तरकारीबालीमा पनि नोक्सानी गरेको चौधरीले बताए ।

कात्तिक महीनामा लगाउने हिउँदे बाली अन्तर्गत आलु, काउली, खुर्सानी, मूला, रायो, भन्टालगायतका बालीमा पनि पानीले नराम्रो असर पु¥याएको छ । कतिपय किसानले आलु तथा तेलहनका लागि तोरी छरिसकेको हुँदा अब जमीनमैं कुहिने जीराभवानी गापा–१ शान्तिनगरका किसान रवीन्द्र श्रेष्ठले बताए । पानी परेको कारण तोरीखेतीमा समेत ढिलाइ हुने भएको श्रेष्ठको भनाइ छ ।

सुर्ती बालीका लागि यो पानीले फाइदा पु¥याए पनि रोपाइँमा भने ढिलो भएको किसानहरूले जनाएका छन् । ठोरी गाउँपालिकामा तोरी र सुर्तीबाली मुख्य हिउँदे बाली हुन् ।

प्रस, बिरुवागुठी/

सोमवार बिहान आएको हावासहित पानीको कारण पर्साका ग्रामीण भेगमा धानबालीमा क्षति पुगेको छ । धान पाक्ने समयमा सोमवार बिहान आएको हावापानीको कारण बाली खेतमा असरल्ल परेर ढलेको छ ।

अझै पनि हावापानीको सम्भावना रहेको कारण धान काट्न नपाउँदै धान खेतमा उम्रने हो कि भन्ने चिन्ता पर्सागढी नपा–३ का किसान नारायणप्रसाद दाहालले व्यक्त गरेका छन्।
हावापानीको कारण करीब २०औं बिघा धानबाली खेतमा ढलेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here