प्रस, पोखरिया, ३१ असोज/
नवदुर्गा पूजा समिति, पोखरियाको आयोजनामा पोखरियामा नेपाल–भारत स्तरको अन्तर्राष्ट्रिय कुश्ती प्रतियोगिता सम्पन्न भएको छ ।
विजयादशमीको अवसरमा असोज ३० गते पूजा समितिको संयोजनमा यो प्रतियोगिता आयोजना भएको हो । प्रतियोगिताको उद्घाटन प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले गरेका थिए ।
नेकाका प्रदेश २ का संसदीय दलका नेतासमेत रहेका मन्त्री यादवले नेपाल–भारतबीचको यस्तो विशाल कुश्ती प्रतियोगिताले दुवै देशको सम्बन्ध प्रगाढ बनाउने र लोप हुँदै गएको कुश्ती खेलप्रति सर्वसाधारणको आकर्षण बढाउने विश्वास व्यक्त गरे । उनले कुश्ती खेल विभेदमा परेकोले खेलाडीहरूको दुरवस्था भएको र आगामी दिनमा स्थानीय, प्रदेश र केन्द्र सरकारले कुश्ती खेलाडीको स्वास्थ्य, रोजगार तथा तलबभत्ताको सुविधा उपलब्ध गराउनुपर्ने नीति लिएर अघि बढ्नुपर्ने सुझाव दिए ।
प्रतियोगितामा नेपालका लोकप्रिय पहलमान वसन्त थापा, पारस थापा, बलिराम थापा, सुमीत साह, जयमङ्गल यादवलगायत र भारत बनारसका गोपी पहलमान, पारस पहलमान, पञ्जाबका आशिष पहलमान, सन्दीप पहलमान, गोरखपुरका निरञ्जन पहलमान, आगराका अवधेश पहलमानलगायत सयजना खलिफाबीच ४० जोर कुश्ती प्रतियोगिता भएको थियो ।
जिल्ला उच्चाङ्गल रामदेव कलवार नमूना मावि पोखरिया परिसरमा आयोजित प्रतियोगितामा कुश्ती हेर्न पोखरिया, कालिकामाई, छिपहरमाई, धोबिनी, जगरनापुर गाउँपालिकालगायत, बारा, वीरगंज र भारतको बिहार क्षेत्रबाट हजारौंको सङ्ख्यामा दर्शकहरू आएका थिए ।
मेला संयोजक एवं वडा नं ४ का अध्यक्ष लक्ष्मण साह कानूको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथिहरू प्रदेश २ का जलस्रोत तथा ऊर्जा सिंचाइमन्त्री ओमप्रकाश शर्मा, नेका पर्साका सभापति अजय द्विवेदी, संविधानसभा सदस्य राजकुमार गुप्ता, प्रद्युम्न चौहान, रामेश्वर रौनियार, नगरप्रमुख दीपनारायण रौनियारलगायतको सहभागिता थियो । कार्यक्रममा स्वागत उपप्रमुख सलमा खातुनले गरेकी थिइन् ।