प्रस, ठोरी, ३१ असोज/
समाजसेवी स्व रामबहादुर श्रेष्ठ गोल्डकप राष्ट्रिय नकआउट फूटबल प्रतियोगिताको उपाधि सुवर्ण निर्मल समाज युवा क्लब मिलचोकले हात पारेको छ । असोज २८ गते भएको प्रतियोगितामा सुवर्ण युवा क्लब ठोरी–५ लाई १–० गोलअत्तरले पराजित गर्दै मिलचोक विजयी भएको हो । विजेता टीमले रु २ लाख नगद, ट्रफीसहित प्रमाणपत्र प्राप्त गरेको छ ।
उपविजेता सुवर्ण युवा क्लबले नगद रु १ लाख, ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेको छ । उत्कृष्ट खेलाडी घोषित भएका मिलचोकका फोफोना फोर्डले नगद रु २० हजार, सर्वाधिक गोलकर्ता वीरगंज युनाइटेडका कृपाकान्त चौधरीले चाँदीको जुत्ता, उत्कृष्ट गोलकीपर सुवर्णपुरका अशोक बरालले नगद रु १० हजार प्राप्त गरेका थिए ।
पुरस्कार वितरण कार्यक्रमको उद्घाटन प्रदेश २ का खानेपानी तथा ऊर्जामन्त्री ओमप्रकाश शर्माले गरेका थिए । कार्यक्रममा प्रदेश २ का सांसद तथा नेपाली काङ्ग्रेसका नेता शङ्करप्रसाद चौधरीले गोल्डकपका लागि रु ३ लाख ५० हजारको चेक हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा ठोरी गापाको विकासमा योगदान पु¥याएका व्यक्तिहरू, अनाथ आश्रमका सञ्चालक आसबहादुर गुरुङ, विजयबस्ती माविका पूर्वप्रअ कालीन गदी, टिच फर नेपालका शिक्षक कुमोद साह, ठोरीका सगरमाथा आरोही हरेराम खड्का, मिस तामाङ कोपिला स्याङ्बो, गायक निमा रूम्बा र बाबा पाख्रिन, विजयबस्ती माविका पूर्वविद्यार्थी डा छिरिङ स्याङ्बोलगायतलाई सम्मान गरिएको थियो । साथै गोल्डकपलाई १० हजारभन्दा धेरै आर्थिक सहयोग गर्ने सहयोगी संस्था तथा व्यक्तिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो ।
आयोजक समितिका अध्यक्ष झलकमान श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा ठोरी गाउँपालिकाका अध्यक्ष पद्मलाल श्रेष्ठ, नेकाका नेता बृहस्पतिकृष्ण श्रेष्ठ, रमेश पाण्डे, श्रीकान्त यादव, तत्कालीन ठोरी गाविसका पूर्वअध्यक्ष लालबहादुर श्रेष्ठ, समाजसेवी रामबहादुर श्रेष्ठ, राष्ट्रिय बीमा संस्थानका पूर्वकर्मचारी पद्मबहादुर श्रेष्ठलगायतको सहभागिता थियो । कार्यक्रममा स्वागत आयोजक समितिका सन्तोष श्रेष्ठले गरेका थिए ।