प्रस, परवानीपुर, २५ असोज/

चालू आवको लागि वर्तमान शेरबहादुर देउवाको सरकारले पारित गराएको बजेटमा बिलेट आयातमा २.५ प्रतिशत अन्तःशुल्क बढाएको छ । जसले गर्दा बिलेट आयात गरी पगालेर डन्डी र फलामजन्य निर्माण सामग्री उत्पादन गर्दा लागत खर्च वृद्धि भएको छ भने स्क्रेप गलाएर बिलेट बनाउने उद्योगहरूलाई फाइदा पुगेको छ ।

यसको असर वीरगंज कोरिडोरको कबाडी व्यवसायमा सकारात्मकरूपले परेको व्यवसायीहरूले बताएका छन् । बारा, परवानीपुर–३ लिपनीमालमा रहेको विगत छ महीनामा सञ्चालनमा आएको एसएस सप्लायर्सका सञ्चालक सौरभ अग्रवालका अनुसार पहिलेभन्दा कबाडी सङ्कलन र नेपालमैं सहजै बिक्री वितरण हुन थालेपछि व्यवसाय बढाउँदै गएको बताए । उनका अनुसार सरकारको उदासीनताको कारण नेपालमा सङ्कलित भएका कबाडहरू भारत निकासी गर्नुपथ्र्यो ।

निकासी गर्दा प्रहरी प्रशासनको मिलीभगत तथा भन्सारको झन्झटिलो प्रक्रियाले सयौं व्यवसायीले झन्झट बेहोर्नुपरेको थियो । तर अहिले वीरगंज कोरिडोरमा स्क्रेप गलाउने सबैभन्दा ठूलो क्षमताको उद्योग सर्वोत्तम स्टील, जगदम्बा स्टील, अशोक स्टीललगायत उद्योगहरू सञ्चालनमा रहेकाले नेपालको कबाड सहजै बिक्री हुने र भारत निकासीभन्दा नेपालमैं बजार पाएको भन्दै नयाँ लगानीकर्ता पनि यो व्यवसायमा आउन थालेको बताए । उनका अनुसार साइकल र ठेलामा सङ्कलन गरिएको कबाडीलाई कबाडी गोदाममा भण्डारण गर्ने, डिसमेन्टल गर्ने र त्यसपछि स्क्रेप गलाउने भट्टी अर्थात् फलाम उद्योगमा बिक्रीका लागि पठाउने काम भइरहेको छ ।

एसएस सप्लायर्सले अहिले साइकल र ठेलाबाट सङ्कलन गरिने कबाडलाई ५६ रुपियाँ प्रतिकिलोमा खरीद गरिरहेको छ भने अशोक स्टीललाई किलोमा २५ पैसा थपेर बिक्री गरिरहेको जानकारी गराए ।

नेपालमा बर्सेनि हजारौं टन फलामजन्य वस्तु कबाड बन्ने गरेको तर स्क्रेप गलाउने फलाम उद्योग न्यून मात्रामा भएपनि नेपाली कबाडी भारत निकासी हुँदै आएकोमा पछिल्लो समयमा यो कदमले कबाडी व्यवसायीलाई फाइदा पुगेको र यहाँ रोजगार सिर्जना हुने जानकारी गराए ।

अहिले उनको उद्योगमा छजनाले दैनिकरूपमा रोजगार पाएको र महीनामा न्यूनतमरूपमा ४०/५० टन फलाम खरीद गरी बिक्री वितरण भइरहेको र केही उद्योग तथा ठूला औद्योगिक प्रतिष्ठानको ठूलठूला फलामे मेशिन (कबाडी) खरीद गर्ने योजनामा पनि रहेको उनले बताए ।

वीरगंजमा गण्डकदेखि बसपार्क हुँदै रजतजयन्तीको बाइपास रोडमा पहिले सयौं कबाड सञ्चालनमा थिए भने अहिले गण्डक, परवानीपुर, जीतपुर क्षेत्रमा जग्गा भाडामा लिएर कबाडी व्यवसाय शुरू गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here