राधेश्याम पटेल, परवानीपुर, २३ असोज/

सरकारले नेपाल–भारत सीमा खोलेसँगै वीरगंज नाकाबाट भारतीय पर्यटकहरू आउने क्रम बढेको छ । असोज १५ गतेदेखि नाका खोलिएको र दैनिक सयौंका सङ्ख्यामा भारतीय पर्यटक आइरहेको वीरगंज भन्सारका कर्मचारीले बताए ।

भारतीय गाडीको प्रवेशमा वृद्धि भएकाले राजस्व बुझ्न अहिले भ्याइनभ्याइ भएको भन्सार कर्मचारीहरू बताउँछन् । वीरगंज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलका अनुसार अहिले दैनिक सयभन्दा बढी भारतीय चार पाङ्ग्रे सवारीसाधन भित्रिरहेका छन् भने दुई पाङ्ग्रे मोटरसाइकल र स्कूटी करीब चार सयको सङ्ख्यामा नेपाल भित्रिरहेका छन् ।

रक्सौल हुँदै वीरगंज भित्रिने ३० प्रतिशत भारतीय गाडी वीरगंजमा घुमफिर र किनमेल गरी फर्किने गर्छ भने ७० प्रतिशत गाडी हेटौंडा, सौराहा, पोखरा, जनकपुर र काठमाडौंतर्फ जान्छ । करीब १८ महीनापछि विदेशी पर्यटकलाई गाडीसहित नेपाल प्रवेशको अनुमतिले भारतीय पर्यटकहरूको आवागमन बढेको हो ।

रक्सौल भित्रिने गाडीहरूमा वीरगंज मात्र प्रवेश गरी फर्किने सवारीसाधनलाई सुविधायुक्त हिसाबले मात्र इन्ट्री गरी प्रवेश गराइएको छ भने नेपालका अन्य ठाउँमा जाने गाडीमध्ये मोटरसाइकललाई दिनको रु एक सय पचास रुपैयाँ र चार पाङ्ग्रे कार, जीप भ्यानलाई दिनको रु ५ सयको दरले भन्सार शुल्क काट्ने गरिएको छ ।

दशैंमा भन्सार कार्यालयका केही कर्मचारी बिदामा घर गएकाले भन्सार शुल्क काट्न अहिले समस्या भएको छ ।  भारतीय गाडीको वीरगंज भन्सारको मूल गेटमा बिहान ५ देखि साँझ ५ बजेसम्म लाइन लाग्ने गरेको छ । तर भन्सार शुल्क काट्ने समय बिहान ९ देखि साँझ ५ बजेसम्म मात्र छ ।

केही भारतीय पर्यटक साँझ वीरगंज पुगेपछि भन्सार काट्न नसकेर रक्सौलकै होटलमा बस्न बाध्य छन् । भारतीय पर्यटकहरूले राति १० बजेसम्म भन्सार शुल्क काट्ने सुविधा दिइनुपर्ने माग गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here