ओमप्रकाश चौधरी, सेढवा, २३ असोज/

कोभिड महामारीपछि अहिले दैनिक उपभोग्य वस्तुहरूको मोल आकाशिएको छ भने त्यहीं किसानहरूको उत्पादन भदई धानको मोल भने घटेको छ ।

पटेर्वासुगौली गाउँपालिका–३ का रामजीत चौधरीले गत वर्ष भदई तथा सारो जातको धानको मूल्य रु २० प्रतिकिलोको दरमा शुरू भएको तर यस वर्ष किसानको उत्पादनको मूल्य बढ्नुको साटो घटेको गुनासो गरे । उनले अहिले ग्रामीण भेगमा खुलारूपमा भदई मन्सुली रु १६–१७ प्रतिकिलोको दरमा बिक्री भइरहेको बताए ।

त्यस्तै, धानको गुणस्तरको आधारमा थोकमा भने रु १८–१९ प्रतिकिलोको दरमा खरीद–बिक्री भइरहेको किसानहरूले बताए ।

पेट्रोलियम पदार्थ, लत्ताकपडा, भाँडाबर्तन, दैनिक उपभोग्य सामानको मूल्य जहाँ आकाशिएको छ त्यहीं किसानको ढाड सेकिएको छ । उनीहरूले दिनरात मेहनत गरेर उत्पादन गरेको धानको मूल्य घट्दा उनीहरूमा निराशा छाएको छ ।

जीराभवानी गापा–१ बलुवा निवासी किसान प्रभु मुखिया बिनले कृषिजन्य पदार्थको मूल्य वृद्धि भएको तर उत्पादनको मूल्य घटेको कारण किसान निराश भएको बताए । उनले धान उत्पादनका लागि ट्याक्टरबाट खेत जोताइ, कीटनाशक औषधि, रासायनिक मल, बीउबिजनको प्रयोग गर्दा सबैजसोको दररेट वृद्धि हुँदै आएको तर किसानको उत्पादन धानको मोल भने घट्नुले चिन्ता बढेको बताए ।

यथावस्थामा किसानहरू पेशाबाट पलायन हुन सक्ने उनले बताए । उनले धानको उत्पादन बढेसँगै व्यापारीहरूले मोल घटाएर किसानलाई घटेको दरमा बिक्री गर्न बाध्य पारेको आरोप लगाए।

प्रायः किसानहरूसँग बढी उत्पादन सञ्चय गर्ने क्षमता नभएको र धेरैजसोले धान बिक्री गरेर गुजारा गर्नुपर्ने बाध्यता भएकोले व्यापारीहरूले किसानमारा काम गरेको उनले बताए ।

ठोरी गापा–५ क्षत्रीलाइनका किसान बलराम कोर्मोचाका अनुसार स्थानीय, प्रदेश तथा सङ्घ सरकारले समयमा बीउबिजन, रासायनिक मल तथा कीटनाशक औषधिको व्यवस्था नगरेको हँुदा किसानहरूले सास्ती भोग्नुपरेको बताए । उनले गत वर्षको तुलनामा यस वर्ष कम मोलमा धान बिक्री गर्नुपरेको भन्दै यथावस्थामा धेरै किसानले पेशा परिवर्तन गर्न सक्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here