काठमाडौं, २३ असोज/रासस
चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि चितवन टाइगर्सले जितेको छ । कीर्तिपुरस्थित क्रिकेट मैदानमा शनिवार भएको फाइनल खेलमा पोखरा राइनोजलाई चार विकेटले पराजित गर्दै चितवनले उपाधि जितेको हो । चितवनले पहिलोपटक उपाधि जितेको हो । उपाधिसँगै चितवनले रु ५० लाख प्राप्त गरेको छ । त्यस्तै, उपविजेता बनेको पोखराले रु १५ लाख पायो ।
पोखराले दिएको ११२ रनको लक्ष्य चितवनले १५ दशमलव पाँच ओभरमा छ विकेट गुमाएर पूरा ग¥यो । चितवनको जीतमा भीम सार्कीले ६३ रनको अर्धशतकीय पारी खेले । उनले ४५ बलमा सात चौका र दुई छक्का प्रहार गरे । यस्तै, दिलीप नाथले १८ रन जोड्दा राजेश पुलामीले १४ रन बनाए । त्यस्तै, मोहमद साहजदले ११ रन जोडे भने कप्तान सोमपाल कामी चार रनमा अविजित रहे ।
पोखराका किशोर महतोले चार विकेट लिए भने नन्दन यादवले दुई विकेट झारे । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखरा १७ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै १११ रनमा समेटिएको थियो । पोखराका लागि असेला गुनारत्नेले सर्वाधिक ३४ रन बनाए भने रिचार्ड लेभीले २६ रन जोडे । विपिन रावलले १७, कप्तान विनोद भण्डारीले २२ तथा किशोर महतो एक रनमा अविजित रहे ।
त्यस्तै, विवेक यादव चार, रीत गौतम दुई, सहन अर्चाचिगे दुई, विक्रम सोब एक रनमा आउट हुँदा लोकेश बम र नन्दन यादव खाता नखोली पेभेलियन फर्किए । पोखरालाई सस्तैमा समेट्ने क्रममा चितवनका कमलसिंह ऐरीले चार विकेट लिए । यस्तै, करिम जनत र सेकुग्गे प्रसन्नले दुई/दुई विकेट लिए । सोमपाल कामी र सागर ढकालको नाममा एक/एक विकेट रह्यो ।
व्यक्तिगत विधातर्फको उपाधि पनि चितवनकै वर्चस्व रह्यो । चितवनका स्पिनर सागर ढकाल ‘प्लेयर अफ द सिरिज’ (सर्वोत्कृष्ट) चुनिए । उपाधिसहित उनले २०० सिसीको मोटरसाइकल प्राप्त गरे । त्यस्तै, चितवनकै भीम सार्की उदीयमान खेलाडी (इमर्जिङ प्लेयर) चुनिए । चितवनकै कमलसिंह ऐरीले ‘डेर टु ड्रिम’ पुरस्कार पाए । भीम र कमलले जनही रु ५१ हजार प्राप्त गरे ।