- राजेश मिश्र
बिहीवारदेखि प्रारम्भ भएको दशहराको आज शनिवार तेस्रो दिन हो । अर्थात् आज चन्द्रघण्टा माताको आराधनाको दिन हो । दशहरा शुरू भएसँगै शक्तिपीठहरूमा भक्तजनको भीड बढ्दो छ । शङ्खघण्टको नाद तथा धुप र दीपको सुगन्धले चारैतिर मन्त्रमुग्ध वातावरण सिर्जना भएको छ । हर्षोल्लास छाएको छ ।
गत वर्ष कोरोना महामारीको कारण दशहरबामा माता भगवतीको पूजा घरमा नै सीमित रह्यो । मन्दिरलगायत सार्वजनिक स्थानमा हुने पूजापाठ तथा मेला प्रभावित रह्योे । गत वर्षभन्दा यस वर्ष परिस्थिति सुधारोन्मुख छ । यद्यपि सतर्कता आज पनि उत्तिकै अपरिहार्य छ । मेलामा बढी भीडभाड हुने भएकाले कोरोनाको प्रसार हुन सक्ने सम्भावनालाई हेलचेक्र्याइँ गर्नु घातक हुन सक्छ । त्यसैले मास्क लगाउनुका साथै सुरक्षाका अन्य उपायप्रति स्वयम् सचेत हुनु नितान्त आवश्यक छ ।
सस्तो, ताजा र कुरुमकुरुम जिलेबी पाइने भनेकै दशहरा मेलामा हो । घटस्थापनादेखि वीरगंजको माईस्थान, बिर्ता, गीतामन्दिर, घण्टाघर, रानीघाट, श्रीपुर, राधेमाईलगायतका स्थानहरूमा बिहानदेखि नै सस्तो र ताजा जिलेबी खानेहरूको भीड देख्न सकिन्छ । ग्रामीण क्षेत्रका मेलापातमा पनि चहलपहल उत्तिकै बढेको छ । दूरदराजबाट आउने व्यवसायीहरू सप्तमी र अष्टमीको दिन वीरगंज, नवमी र दशमीको दिन विन्ध्यवासिनी तथा अन्तमा विरञ्चिबर्वा र पोखरियामा पसल लिएर पुग्छन् । एक हप्ताको परिश्रमले थोरै भएपनि उनीहरूका लागि सन्तुष्टिपूर्ण आम्दानी हुन्छ । मेलामा सबै उमेर समूहका महिला, पुरुष तथा बालबालिकाहरूको घुइँचो बढ्न थालेको छ ।
शिक्षा, संसाधन, अर्र्थ, यातायात आदि आजको जस्तो उहिले थिएन । यद्यपि उहिले जे जस्तो परिस्थिति थियो, त्यो नै पर्याप्त र सन्तोषजनक थियो । हिजो र आजको समयको तुलना गर्न मिल्दैन । समय र परिस्थिति परिवर्तनशील छ र समयसँगै परिवर्तन भइरहन्छ । उहिले कनिया (बुहारी)हरूका लागि मेलापात जानु सपना जस्तै थियो । यद्यपि अपवादबाहेक आजको बदलिंदो समयमा कुनै पनि पक्षबाट मन्दिर तथा मेलापात जान बुहारीहरूलाई रोकावट छैन । समयको गतिसँगै कनियाहरूको घुम्टो छोटो तथा स्वतन्त्रताको दायरा फराकिलो हुँदै गइरहेको छ ।
उहिलेका बुहारीहरू मेलापात कसरी जान्थे ? उहिलेको परिस्थिति कस्तो थियो ? आफ्नो रुचि र आवश्यकताका सामान खरीद गर्न पनि किन गा¥हो थियो ? आदि कुरा आजको पुस्ताले जान्नु जरुरी छ । आजको यस आलेखमा विरञ्चिबर्वाको ऐतिहासिक मेला, उहिलेका कनियाहरूको भावना तथा कथा आदि समेटिएको छ ।
विरञ्चिबर्वाको मेला
पर्साको विरञ्चिबर्वाको मेला ऐतिहासिक हो । यहाँ सदियौंदेखि दशहरामा माता भगवतीको प्रतिमा बनाउने, पूजापाठ गर्ने तथा प्रतिमा विसर्जन गर्ने क्रम अहिलेसम्म अटुट छ । प्रत्येक वर्ष ‘धोबिन चिरइ’ (धोबिन चरा) उडाउने यस मेलाको प्रमुख विशेषता हो । यद्यपि झन्डै एक दशकदेखि धोबिन चरा पाउन त के देखा पर्नु नै मुश्किल छ ।
त्यसैले नियम पूरा गर्नको लागि केही वर्षदेखि परेवा उडाउने गरिएको छ । उहिले जताततै पाइने, देखिने धोबिन चरा आज प्रायः विलुप्त छ । लोकमान्यता अनुसार धोबिन चराको दर्शन अति शुभ मानिन्छ । ग्रामीण क्षेत्रका मानिसहरू टाढाको जुनसुकै मेलापात गए पनि विरञ्चिबर्वाको मेला नगए सन्तुष्टि मिल्दैन । झन्डै अढाई दशकदेखि पोखरियामा पनि प्रतिमा बनाइ देवी भगवतीको पूजापाठ तथा मेला लाग्दै आइरहेको छ ।
गोधूलिपछि कनियाहरूको मेला
उहिले अपवादबाहेक घरका कनिया (बुहारी)हरूका लागि मेलाको उत्सव घुम्टोमा सीमित थियो । मेलापातमा जान ठूलाबडाको अनुमतिविना सम्भव थिएन । अनुमति पाइहाले पनि घरबाहिरको अवस्थासँग अपरिचित रहेकाले एक्लै जानु असम्भव थियो । त्यसैले आफ्नै गाउँठाउँ वा आसपासका मेलापात जानुपर्दा सासू वा नन्दको सानिध्य आवश्यक थियो । लोकलाजको मनोविज्ञान यतिसम्म हाबी थियो कि मेला त परै जाओस्, पतिसँग अस्पताल जानु पनि कनियाहरूको लागि अत्यन्तै दुर्लभ अवस्था थियो ।
माइती जस्तै स्वतन्त्रता पतिको घर (ससुराल)मा पाइँदैनथियो । बिहेको बेला घुम्टो ओडेरआएकी बुहारीलाई माइतीदेखि ससुराल कुन दिशामा छ भन्ने थाहा हुँदैनथियो । बुहारी भइसकेपछि घुम्टोसँगै अनुशासन, आदेश, मर्यादा, लोकलाज जस्ता सामाजिक परिबन्ध आवश्यक मानिन्थ्यो । निजी इच्छा र आकाङ्क्षा मनभित्र दबाउनुको विकल्प थिएन । यद्यपि कसैले सोधेमा म पनि मेला भर्न जान्थें भन्ने मनमा हुटहुटी नहुने कुरै थिएन । यदि मेला गाउँमा लागेको छ भने सामान्यतया बुहारीहरू गोधूलिपछि जान पाउँथे । दूरदराजको मेला अपवादबाहेक असम्भव प्रायः थियो ।
कनियाको कथा
दशैंको अवसरमा प्रत्येक वर्षझैं यस वर्ष पनि गाउँमा मेला लागेको छ । लाउडस्पीकरको ध्वनिलगायत मेलाको कोलाहल घरसम्म पुगिरहेको थियो । अँध्यारो हुन थालेपछि टाढाका मानिसहरू मेलाबाट प्रस्थान गरिरहेका थिए । मेलामा भीड कम भएपछि अहिले महिलाहरूको आगमन शुरू भइसकेकोे छ । देवीस्थान तथा पसलहरूमा बिस्तारै भीड बढ्न थालेको छ ।
आज कनिया (बुहारी) निकै खुशी र उत्साहित थिइन् । किनभने सासूआमाले आज राति मेला भर्न जाने अनुमति दिइसकेकी छन् । खुशीले गद्गद् कनियाको पाउ जमीनमा छैन । साँझको सात नबज्दै खाना पकाइसकेकी छन् । बुहारीबाहेक घरका प्रायः सदस्य खाना खाएर पुनः मेलातर्फ गइसकेका छन् । बुहारीले मेलाबाट फर्केर आएपछि खाना खाने भन्दै थालमा पस्केर दौरीले छोपिदिइन् । भाँडा माजिसकेपछि सरसफाइको कार्य उत्साहित मनले फटाफट गरिरहेकी थिइन् । सोही बखत नन्दको आवाज आयो ।
नन्द ः हो, भौजी मेला देखे ना चलबु का ? बगलवाली दुनु घरके काकी लोग आपन पतोह के लेके दुवार पर खडा बाटे लोग । चल्बु त चल जल्दी । (ओई भाउजू, मेला भर्न जाने होइन ? छिमेकी दुईटै घरका काकीहरू आआफ्नो बुहारीलाई लिएर घरअगाडि उभिरहनुभएको छ । जाने हो भने जाउँ छिटो ।)
बुहारी ः धीरे से बोलिना बबी, बाबुजी सुनेम त कहेम जे मेला देखे जातिया । खिसियाए नु लागेम (सानो स्वरमा बोल्नु न नानी । बुबा हजुरले सुन्नुभयो भने भन्नुहुन्छ कि मेला भर्न गइरहेकी छे। रिसाउनु होला नि ।)
नन्द ः चिन्ता मत कर भौजी । बाबुजी ना खिसियइहन । मेला देखे जाए के बात बाबुजी के थाह बा । माई कह देले बाडी । (चिन्ता नगर्नु भाउजू । बुबा रिसाउनुहुन्न । मेला भर्न जाने कुरा बुबालाई थाहा छ । आमाले भनिदिनुभएको छ ।)
रातिको नौ बजिरहेको थियो । अहिले मेलामा पुरुषहरूभन्दा महिलाहरूको भीड बढी छ । सासू, नन्द तथा छिमेकी महिलाहरूको हुलमा कनिया पनि थिइन् । सर्वप्रथम सबैजनाले माताको दर्शन गरे । देवी भगवतीको खोंइच भरे । त्यसपछि पसलहरूमा सामान हेर्दै र मन परेका सामान किन्दै हिंडिरहे । मेलाको सबै कुनाकाप्चा घुमिरहे । सोही बखत सानो स्वरमा सासूले भनिन्, “ए पतोह १ होने अलोता होजा, होदे सामने से काकाजी आवतानी ।” विपरीत दिशाबाट गाउँका एकजना काका पर्ने आइरहेका थिए । त्यसैले सासूले बुहारीलाई एकातर्फ लुक्न आदेश दिइन् । बुहारी लुकिन् । काकाले उनीहरूलाई हेरेपछि तीव्र गतिमा सोही बाटो हुँदै अगाडि गए ।
कनियाले मन परेका थुप्रै सामग्री किनिसकेकी थिइन् । अब उनलाई भित्री वस्त्र किन्ने मन थियो। नन्दको कानमा बिस्तारै भनिरहँदा सँगै रहेकी छिमेकी काकीकी बुहारीले पनि भित्री वस्त्र किन्ने कुरा सुनिन् । ती बुहारीको मनमा पनि यहीं विचार खेलिरहेको थियो । उनीहरूको वस्त्र किन्ने सल्लाहमा नन्दको पनि समर्थन थियो । नन्दको पछिपछि उनीहरू पनि हिंड्न थाले । उनीहरू जुन पसलमा जान्थे, महिलाहरू खाना पकाइरहेकाले पुरुषहरू पसलमा थिए । पुरुषसँग कसरी भन्ने ? कसरी किन्ने ? भन्ने लोकलाज हुनु स्वाभाविक थियो । अप्ठ्यारो भयो ।
पसलामा उभिरहेकै बेला आफ्नै भसुर (जेठाजु) आइरहेको देखेर नन्दले भनिन्, “हो भौजी १ बडका भैया आवतारन, लुकाजा ।” जेठाजु आइरहेको देखेर नन्दले भाउजूलाई लुक्न भनिन् । गाउँमैं मेला लागेकोले गाउँका प्रायः मानिस राति अबेरसम्म मेलामा घुम्थे । वर्षमा एकपटक जेनेरेटरबाट बल्ने बिजुलीको प्रकाशले गाउँ जगमग हुन्थ्यो । रमाइलो गर्ने अवसर प्राप्त हुन्थ्यो । त्यसैले गाउँका प्रायः मानिसहरू मेला सुनसान नभएसम्म घुमिरहन्थे ।
घरीघरी कोही न कोही ठूलाबडा भेंटिहाल्थे । भाउजू यता लुक्नुस् । भाउजू उता लुक्नुस् । लुक्दालुक्दै बिचरी बुहारीको अवस्था बाल्यकालमा खेलेको लुकामारीको खेलजस्तै भइसकेको थियो। अन्ततः नन्दले कुनामा रहेको एक पसलमा लिएर गइन् । नन्दले भनिन्, “भौजी देख त हइ पसन्द बा ?” आसपास अरू कोही नभएकाले घुम्टो थोरै माथि उचालेर कनियाले हेरिन् र राम्रो छ भनिन् ।
पसले महिलाको आँखा कनियाको अनुहारमा प¥यो । एकटकले हेरिरहिन् । चिनिन् । यद्यपि पुष्टि गर्नको लागि पसले महिलाले सोधिन्, बबी तोहर नैहर कहाँ ह ? पसले महिलाले माइती कहाँ हो सोधेपछि कनिया छक्क परिन् । कनियाले पनि चिनिन् । मुस्कुराइन् । ती पसले महिला कनियाको माइती गाउँकी छिमेकी काकी रहिछन् । माइतीको छिमेकी काकी भेट भएकीले कनिया अहिले अति हर्षित थिइन् ।
पसले महिला ः बबी तोहर माई तोहरा खातिर कुछ सामान भेजले बाडी । लेकिन हम तोहर घर ना देखले रनिहँ । बिहान सबेरे केहु से पुछ के तोहरा घरे जरूर अइतीं । लेल हइ झोरा । (नानु, तिम्रो आमाले तिम्रोलागि केही सामग्री पठाएकी छन् । तर मैले तिम्रो घर देखेकी थिइनँ । भोलि बिहान कसैसँग सोधेर तिम्रो घरमा अवश्य आउँथें । लेऊ, यो झोला) आमाले कपडादेखि लिएर खानेकुरा पठाइदिएकी थिइन् । पसले काकीले भित्री वस्त्र सित्तैमा दिइन् । आमाको कुशल मङ्गल पनि सुनाइन् । अहिले कनियाको खुशीको कुनै सीमा थिएन ।
असाध्यै खुशी थिइन् । यताउति घुमाउँदै ठीक्क ठाउँमा ल्याएकीले नन्दलाई धन्यवाद दिइन् । सासूले आज मेला जाने अनुमति दिएकीले सासूप्रति पनि कृतज्ञता जाहेर गरिन् ।