चिरञ्जीवी सापकोटा, ठोरी, २२ असोज/
वनशक्ति युवा क्लबको आयोजनामा ठोरी गाउँपालिका–२ को ब्यारेक खेलमैदानमा जारी दशैंकप–२०७८ अन्तर्गत शुक्रवार भएका दुईवटा सेमिफाइनल खेलमा अमृत युवा क्लब र निर्मल युवा समाज फाइनलमा प्रवेश गरेका छन् ।
आजको खेलमा अमृत युवा क्लब ठोरी–२ सुन्दरबस्तीले थ्रीस्टार क्लब ठोरी–१ सरस्वतीनगरलाई शून्यका विरुद्ध दुई गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
पहिलो सेमिफाइनल खेलमा अमृत युवा क्लबलाई विजयी बनाउन मध्यान्तरपूर्व सफल गुरुङले पहिलो गोल गरेका थिए । खेल प्रतिस्पर्धात्मक थियो र मध्यान्तरपछि अमृत युवा क्लबकै सरोज तामाङले पेनाल्टीबाट दोस्रो गोल गरेका थिए । पहिलो खेलको ‘म्यान अफ दी म्याच’ अमृत युवा क्लबका सनम लामा घोषित भएको आयोजक समितिका नरबहादुर क्षेत्रीले बताए ।
दोस्रो खेलमा जनचेतना युवा क्लब ठोरी–१ लाई निर्मल समाज क्लबले शून्यका विरुद्ध दुई गोलअन्तरले नै पराजित गर्दै फाइनल यात्रा सुरक्षित गरेको छ । मध्यान्तरपूर्व निर्मल समाज क्लबका कृजन मगरले गोल गरी टीमलाई अग्रता दिलाएका थिए ।
मध्यान्तरपछिको खेलमा निर्मल समाज क्लबका केवल अधिकारीले थप एक गोल गरी विजय सुनिश्चित गरे । दोस्रो सेमिफाइनल खेलको ‘म्यान अफ दी म्याच’ जनचेतना युवा क्लबका लामा घोषित भए ।
दशैंकप–२०७८ को फाइनल खेल आइतवार हुनेछ । खेलको विजेतालाई नगद ५२ हजार तथा उपविजेतालाई नगद २६ हजार, मेडल, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने आयोजक क्लबका अध्यक्ष कमल रानाले बताए ।