काठमाडौं, २० असोज/रासस

स्पोट्र्स क्यासल पोखरामा जारी ‘ए डिभिजन’ राष्ट्रिय फूटसल लिगको फाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा बुधवार सम्पन्न खेलमा ‘द राइजिङ’ क्लब धरानलाई ८–६ को गोलअन्तरले पराजित गर्दै घरेलु टोली क्यासल फाइनलमा प्रवेश गरेको हो । खेलमा क्यासलले सुरुआती अग्रता बनाए पनि जीतका लागि अन्तिमसम्म कडा सङ्घर्ष गर्नुपरेको थियो ।

क्यासललाई जीत दिलाउन किशोर गुरुङ र सुमित श्रेष्ठले ह्याट्रिक गरे भने सुरज गुरुङ र विजय गुरुङले समान एक/एक गोल गरे । राइजिड्ढा हेमन्त थापामगर, सुदीप गुरुङ र मिलन राईले दुई/दुई गोल गरे । खेलको ‘म्यान अफ दी म्याच’ स्पोट्र्स क्यासलका किशोर गुरुङ चुनिए । उनले नगद रु पाँच हजार पुरस्कार पाए ।

क्यासल लिग तालिकाको शीर्ष स्थानमा रहँदै ‘प्लेअफ’मा पुगेको थियो । यस्तै, राइजिङले पनि दोस्रो स्थानमा रहँदै ‘प्लेअफ’को यात्रा तय गरेको थियो । यसैगरी, आज शङ्खमूल फूटसल क्लब र सविन मेमोरियलबीचको ‘इलिमिनेटर’ खेलमा शङ्खमूल विजयी भएको छ । शङ्खमूलले तीन/दुईको गोलअन्तरले खेल जित्न सफल भयो । शङ्खमूलका कृजल खड्काले दुई तथा जेनिश प्रजापतिले एक गोल गरे । शङ्खमूलले अब फाइनल प्रवेशका लागि बिहीवार ‘द राइजिङ’ क्लब धरानसँग खेल्नेछ । सविनका सरोज गुरुङ र मनोज गुरुङले गोल गरे ।

अखिल नेपाल फूटबल सङ्घले देशमा पहिलोपटक फूटसल लिग आयोजना गरेको हो । गत असोज २ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको फाइनल खेल असोज २२ गते हुने आयोजकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here