काठमाडौं, २० असोज/रासस
चितवन टाइगर्सले पोखरा राइनोजलाई ९ विकेटले पराजित गर्दै एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधवार भएको खेलमा चितवन पहिलोपटक इपिएलको फाइनलमा पुगेको हो । पोखराले दिएको ६७ रनको सामान्य लक्ष्य चितवनले ७ दशमलव ५ ओभरमा एक विकेट गुमाएर लक्ष्य पूरा ग¥यो ।
चितवनको जीतमा मोहमद शाहजदले सर्वाधिक ४८ रन बनाए । उनले २६ बलमा ७ चौका र २ छक्का प्रहार गरे । यस्तै, हसिम अन्सारीले अविजित १४ रन जोडे । करिम जन्नत चार रनमा अविजित रहे । बलिङतर्फ पोखराका नन्दन यादवले एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखरा १५ ओभरमा सबै विकेट गुमाउँदै ६६ रनमा समेटिएको थियो । पोखराका लागि रिचर्ड लेभीले सर्वाधिक १९ रन बनाए । सुनील धमलाले १८ रन जोड्दा सुशन भारीले १२ रन बनाए ।
त्यसैगरी, लोकेश बम पाँच, सहन अर्चाचिगे तीन, विक्रम सोब तीन, विवेक यादव दुई, असेला गुनारत्ने एक रनमा आउट भए । कप्तान विनोद भण्डारी र नन्दन यादव शून्य रनमा आउट हुँदा किशोर महतो एक रनमा अविजित रहे ।
पोखरालाई सस्तैमा समेट्ने क्रममा चितवनका सागर ढकाल र साहब आलमले चार/चार विकेट लिए भने सोमपाल कामी र करिम जन्नतले एक/एक विकेट झारे ।