चिरञ्जीवी सापकोटा, ठोरी, २० असोज/

विजयादशमीको अवसरमा ठोरी गाउँपालिका–२ ब्यारेक खेलमैदानमा जारी दशैंकप–२०७८ को बुधवार भएको दुईवटा खेलमा जनचेतना क्लब ठोरी–१ र थ्रीस्टार क्लब ठोरी–१ विजयी भएका छन् ।

आज भएको पहिलो खेलमा जनचेतना क्लब ठोरी–१ भगवाननगरले निमल समाज युवा क्लब ठोरी–४ लाई शून्यका विरुद्ध एक गोलअन्तरले पराजित ग¥यो । जनचेतना क्लबका सुरज थिङले गरेको एक गोलले नै आजको खेलको निर्णायक भयो । जीतसँगै जनचेतना क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो खेलको ‘म्यान अफ दी म्याच’ जनचेतना क्लबका गोलकर्ता थिङ घोषित भएको वनशक्ति युवा क्लबका अध्यक्ष कमल रानाले बताए ।

दोस्रो खेलमा थ्रीस्टार क्लब ठोरी–१ सरस्वतीनगरले नवयुवा क्लब ठोरी–२ गौतमनगरलाई शून्यका दुई गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । थ्रीस्टारका निशान नेपालीले दुईवटै गोल गरेका थिए । उनले दुवै गोल केही मिनेटको अन्तरालमा गर्दै आफ्नो टीमलाई सेमिफाइनलको यात्रामा सुरक्षित पारे । नेपाली नै दोस्रो खेलको ‘म्यान अफ दी म्याच’ घोषित भएको आयोजक क्लबका अध्यक्ष रानाले बताए ।

भोलिको खेल आयोजक वनशक्ति युवा क्लब ठोरी–२ र निर्मल समाज क्लब ठोरी–१ रोजीनगरबीच हुने खेल संयोजक सुनील लामाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here