प्रस, वीरगंज, २० असोज
भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटालाई वीरगंजका व्यवसायीहरूले ज्ञापनपत्र बुझाएका छन् । काठमाडौंमा भेटेर वीरगंजका व्यवसायीहरूले भन्सार जाँचपासमा दैनिक खेप्नुपर्ने झन्झट तथा समस्या समाधान गर्न विभिन्न सुझावसहित ज्ञापनपत्र बुझाएका हुन् ।
वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुबोध गुप्ता नेतृत्वको टोलीले भन्सार विभागका महानिर्देशक सापकोटासँग भेट गरी ज्ञापनपत्र बुझाएको थियो ।
भन्सार चेकजाँचका क्रममा पेश गरिएको बिलमा अङ्कित मूल्यलाई मान्यता दिनुपर्ने, भन्सार मूल्याङ्कनको क्रममा देखिएका समस्या समाधान गर्नुपर्ने, कच्चा पदार्थको आयात दरबन्दी शून्यमा झार्नुपर्ने, धरौटी राख्नुपर्ने प्रावधान हटाउनुपर्नेलगायत लिखित सुझाव दिइएको वीउवासङ्घका अध्यक्ष गुप्ताले बताए ।
भन्सार जाँचपासमा देखिने व्यावहारिक तथा नीतिगत जटिलतालाई सहज बनाउन आग्रह गरिएको उनले बताए ।
भन्सार विभागका महानिर्देशक सापकोटाले भन्सार प्रशासन र निजी क्षेत्र परिपूरक भएकाले वीउवासङ्घबाट प्रस्तुत भन्सारसम्बन्धी सुझावलाई सकारात्मकरूपमा लिएको र भन्सारसम्बन्धी आगामी नीतिगत परिपत्रमा समावेश गर्ने आश्वासन दिए । टोलीमा सङ्घका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल पनि सहभागी थिए ।