बाँकेका महिला अधिकारकर्मी तथा पीडित परिवारका मानिसको एउटा समूह न्याय माग्न नेपालगंजबाट राजधानी काठमाडौंको यात्रामा छ । उनीहरू न्याय माग गर्दै लेखिएको ब्यानरका साथ पैदलयात्रा गरिरहेका छन् । पैदलयात्रामा ११ जना महिला र तीनजना पुरुष छन् । बाँके जिल्लाको जानकी गाउँपालिकाकी ३८ वर्षीया ननपुन्नी देवीको घरेलु हिंसाको कारण मृत्यु भएको थियो । महिला अधिकारीकर्मीहरूले त्यसलाई हत्या भनेका छन् भने प्रहरीले आत्महत्या भनेर पन्छाउन खोजेको छ । उनको लाश झुन्डिएको अवस्थामा फेला परेको थियो । यो घटना साउन ५ गते राति भएको थियो । त्यसैगरी नेपालगंजकी ५० वर्षीया निर्मला खातुनलाई अपहरण गरी बेपत्ता पारिएको थियो । उनको आजसम्म पत्ता लाग्न सकेन तर उनको नामको जग्गा भने अरूको नाममा दर्ता भएको छ । यसले गर्दा उनको अपहरण गरी हत्या भएको महिला अधिकारकर्मीहरूको दाबी छ । तर प्रहरीले दुवै घटनामा राम्ररी अनुसन्धान नगरेको र निर्मलाको घटनाको जाहेरी गत वर्ष मङ्सिरमा दर्ता भएकोमा प्रहरीले आजसम्म केही नगरेको भन्दै उनीहरू न्याय माग्दै राजधानी हानिएका हुन् ।
नेपालगंजबाट निस्केको न्यायग्राही अधिकारकर्मीहरूको जुलूस असोज १९ गते काठमाडौंका लागि निस्केको थियो । १९ औं दिन उनीहरू धादिङ आइपुगेर यहाँबाट हिंडेका छन् । न्यायार्थीहरूको खुट्टा सुन्निएको छ र लामो यात्राले उनीहरूको शरीरलाई गलाएको छ । तर उनीहरूको न्याय प्राप्तिको चाहनामा अलिकति पनि कमी आएको छैन । नेपालगंजमैं सम्बन्धित निकायलाई जति हारगुहार गर्दा पनि दुवै घटना सम्बन्धमा प्रहरीले चित्तबुझ्दो कारबाई नगरेकोमा उनीहरूको ठूलो आपत्ति छ, निकै चित्त दुखाइ छ । यद्यपि अहिलेको नेपालको राज्य व्यवस्थाले घरघरमा सिंहदरबार भन्ने नारा लगाएको छ, तर सामान्य मानिसले पनि उपरोक्त दुवै घटनाप्रति शङ्काको दृष्टिकोण राख्दासमेत न्याय नपाएर अन्ततोगत्वा सिंहदरबारकै भर पर्नुपर्ने बाध्यता देखिएको छ। झन् निर्मला खातुनको त अपहरण भएको नै वर्ष दिन बितिसकेको छ । जानकारहरूका अनुसार उनको जग्गा सरकार लाग्नुपर्ने हो, तर व्यक्तिको नाममा कसरी नामसारी भयो, शङ्का गर्नुपर्ने यति मात्र कारण पर्याप्त छ । एक समय थियो–न्याय हराए गोरखा जानू भनिन्थ्यो । गोरखा भनेको आजको विस्तृत नेपाल नै हो । हिजोआज गोरखा भए पो न्याय पाउनु भन्ने व्यङ्ग्योक्ति गरिन्छ । र देशको अवस्था हेर्दा साँच्ची नै न्याय कुनै अर्कै ग्रहमा पाइन्छ भन्ने अनुभूति हुन थालेको छ ।
यी अधिकारकर्मीहरू किन पैदलयात्रामा हिंडे । किन कुनै बस वा अन्य सवारीसाधनको भर लिएनन् ? वास्तवमा नेपालमा यताका दिनमा न्याय पाउने कि सबलले हो, कि भीडले भन्ने विश्वास स्थापित भइसकेको छ । अधिकारकर्मीहरू चेतनशील भएकाले आफैंलाई दुःख दिएर पैदलयात्रामा हिंडेका हुन् । यसबाट उनीहरूको मागप्रति सशक्त जनशक्ति एकत्रित होस् भन्ने पनि चाहना हो । उनीहरूको यस दुःखले नेपालको जनमत न्यायको पक्षमा उभिन्छ भने यसले एउटा इतिहास कोर्ने पक्का छ । आखिर कहिलेसम्म निर्बल र निमुखाहरूले शोषण र दमन सहिराख्ने ? कहिलेसम्म महिलालाई आत्महत्या गर्न विवश पार्नेेहरू न्याय र कानूनसँग जोगिइरहने ? यसको सत्य–तथ्य पत्ता लाग्दैन भने जतिसुकै कानूनी राज्य भने पनि देशमा मत्स्यन्याय नै बलियो रहेको ठहर्ने छ । र यसले आधुनिक नेपालको छवि धूमिल पारिरहने छ ।