राधेश्याम पटेल, परवानीपुर, १९ असोज/
भारतीय पर्यटकहरू मदिरासँगै जुवा खेल्न वीरगंज आउन शुरू गरेका छन् ।
सरकारले कोरोना महामारी कम भएपछि प्रोटोकल बनाएर गत असोज १ गतेदेखि नेपाली क्यासिनोलाई सञ्चालन अनुमति दिएपछि र नेपाल–भारत सीमा पनि प्रोटोकल बनाएर सहज बनाएपछि भारतीयहरूको चहलपहल बढेको हो ।
पर्सा–बारा औद्योगिक कोरिडोरमा विभिन्न कर्पोरेट हाउस, उद्योग तथा घुमफिरको लागि भारतीयहरू आउने गर्छन् । सोही क्रममा मदिराको चुस्कीसँगै जुवा खेलेर मनोरञ्जन गर्न उनीहरू क्यासिनो छिर्ने गर्छन् ।
वीरगंज क्षेत्रमा दुईवटा र सिमरामा एक गरी यस क्षेत्रमा तीन ठाउँमा क्यासिनो सञ्चालनमा छन्। वीरगंजको होटल भिस्वा परिसरमा सञ्चालित सिएमजी क्लबका सञ्चालक चन्द्रिका सिंहले अहिले ६० भन्दा बढी भारतीय पर्यटक दैनिकरूपमा क्यासिनोमा आइरहेको बताए । उनले असोज १ गतेपछि क्यासिनो सञ्चालनमा ल्याइए पनि अबको तीन महीना व्यवसाय लयमा आउन समय लाग्ने बताए । उनले कोरोना पहिले दैनिक ९० जनाको हाराहारीमा पर्यटक आउने गरेकामा कोरोनापछि करीब डेढ वर्ष क्यासिनो बन्द रहेकोले करोडौं रुपैयाँ घाटा भएको बताएका छन् ।
सिएमजी क्लबमा पहिले करीब तीन सय मजदूर तथा कर्मचारी काम गर्थे भने अहिले दुई सय हाराहारीमा काममा फर्किसकेको उनले जानकारी गराए ।
वीरगंजको आदर्शनगरमा रहेको सुरज होटलको फर्चुन सिटी गेमिङ क्लबका प्रबन्धक विनोद रावलले पनि पहिलेभन्दा भीडभाड बढिरहेको बताए । उनले यथावस्थामा दुई सातापछि भीडभाड अझै बढ्ने विश्वास व्यक्त गरे ।
कोरोनाले करीब १८ महीना ठप्प नेपाल–भारत सीमा अहिले खुलेको र बिस्तारै भारतीयहरूको चाप बढ्ने उनले बताए ।
डेढ वर्ष बन्द रहँदा क्यासिनोमा रहेका धेरै गेमिङ मेशिन खिया लागेर बिग्रेको र नयाँ गेमिङ मेशिन विदेशबाट आयात गर्न तीन महीना लाग्ने बताउँदै उनले अहिले ५० प्रतिशत क्षमतामा क्यासिनो सञ्चालन भएको बताएका छन् । रावलले भारतको बिहारमा मदिरा प्रतिबन्धित रहेकोले मदिरासँगै जुवा खेल्न भारतीय पर्यटकहरू आउने क्रम सीमानाका खुला भएसँगै बढिरहेको बताए ।
क्यासिनोमा नेपाली नागरिक प्रवेश अनुमति छैन र भारतीय वा विदेशी पर्यटकलाई परिचयपत्र हेरेर भित्र प्रवेश दिइन्छ । सुरज होटलको फर्चुन सिटी गेमिङ क्लबमा दैनिक ५० जनाभन्दा बढी भारतीय आइरहेको उनले बताए । रु ५ हजारदेखि डेढ लाखसम्मको गेमिङ भारतीय पर्यटकहरूले खेल्ने गरेको उनले बताए । यो क्यासिनोमा पहिले ६५ जना कर्मचारी काम गर्थे भने अहिले ४० जना काममा फर्किसकेको प्रबन्धक रावलले जानकारी गराए ।
बाराको सिमरास्थित होटल इच्छामा स्माइल क्यासिनोमा पनि भारतीय पर्यटकको चहलपहल बढ्न शुरू भइसकेको होटलका सञ्चालक इच्छाबहादुर वाग्लेले बताए । उनले एक साताअघिसम्म पाँचजनाको हाराहारीमा भारतीय आउने गरेको र अहिले सीमानाका खुला भएपछि करीब १५ जनाको हाराहारीमा भारतीयहरू आइरहेको बताए । उनले सरकारले अनुमति दिएको नौवटा क्यासिनोमध्ये सातवटा काठमाडौंमा, एउटा भैरहवामा र एकवटा सिमरामा रहेको बताए ।
बाँकी सबै क्यासिनो गोमिङ क्लब भएको उनले बताए । उनको होटलभित्रको क्यासिनोमा ठूलो मेशिनबाट जुवा खेलाइने भएकोले प्रदेश २ मैं सम्भवतः यस्तो क्यासिनो नभएको उनले दाबी गरे।
सरकारले प्रोटोकल बनाएर सीमा खोलेपछि क्यासिनो व्यवसाय पनि पुरानो लयमा फर्किन लागेकोमा खुशी व्यक्त गरे । भारतीय पर्यटकले गाडीसहित नेपाल आउन ७२ घण्टाअघिको कोभिड–१९ परीक्षण रिपोर्ट (पिसिआर वा एन्टिजेन), सिसिएमसी डट जिओभी डट एनपीमा लग इन भएर स्थलमार्गबाट नेपाल प्रवेशसम्बन्धी व्यक्तिगत विवरणसहितको अनलाइन फाराम भर्नुपर्छ र वीरगंज भन्सारमा दुई पाङ्ग्रे गाडीको लागि रु डेढ सय र चार चक्के गाडीको लागि रु ५ सयको प्रवेश अनुमतिको रसिद कटाएपछि नेपाल प्रवेश गर्न पाइन्छ ।
शङ्कराचार्य द्वारमा रहेको हेल्थ डेस्कमा एन्टिजेन परीक्षण गराउँदा १० मिनेटमैं रिपोर्ट पाइने व्यवस्था मिलाइएको वीरगंज महानगरको स्वास्थ्य महाशाखाकी डा अनिशा महतोले बताइन् ।