काठमाडौं, १९ असोज/
एभरेस्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत काठमाडौं किंग्स–११ र भैरहवा ग्लाडिएटर्सबीच मङ्गलवारका लागि तय भएको लिगको अन्तिम खेल रद्द भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा तय भएको उक्त खेलमैदानको आउटफिल्ड भिजेका कारण खेल्न योग्य नभएपछि खेल रद्द भएको हो । खेल रद्द भएसँगै दुवै टोलीले एक/एक अङ्क बाँडेका छन् ।
यससँगै सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं किङ्स–११ प्ले अफमा प्रवेश गरेको छ । काठमाडौं चौथो स्थानमा रहँदै प्ले अफमा पुगेको हो । काठमाडौंले पाँच खेलमा तीन अङ्क जोड्यो। ललितपुर प्याट्रियट्सले समान तीन अङ्क जोडे पनि काठमाडौं नेट रन रेटका आधारमा प्ले अफमा पुगेको हो ।
लिगमा आठ अङ्क जोडेको चितवन टाइगर्स पहिलो स्थानमा छ भने सात अङ्क जोडेको पोखरा दोस्रो स्थानमा छ । त्यस्तै, समान सात अङ्क नै जोडेको भैरहवा नेट रन रेटका आधारमा तेस्रो स्थानमा छ ।
साबिक विजेता ललितपुरसँगै दोस्रो संस्करणको विजेता विराटनगर वारियर्स भने प्रतियोगिताको लिग चरणबाटै बाहिरिएका छन् । भोलि बिहान ९ः१५ बजे चितवन टाइगर्स र पोखराबीच पहिलो क्वालिफायर खेल हुनेछ ।
त्यस्तै, काठमाडौंले भैरहवासँग इलिमिनेटर खेल खेल्नेछ । उक्त खेल भोलि दिउँसो १ः३० बजे हुनेछ । प्रतियोगिताको विजेता टोलीले रु ५० लाख तथा उपविजेताले रु १५ लाख पाउनेछन् ।