चिरञ्जीवी सापकोटा, ठोरी, १९ असोज/
विजयादशमीको अवसरमा ठोरी गाउँपालिका–२ को ब्यारेक खेलमैदानमा जारी दशैंकप–२०७८ अन्तर्गत मङ्गलवार भएको पहिलो खेलमा भूमिशक्ति युवा क्लब ठोरी–४ मालीबस्तीलाई निर्मल समाज क्लब ठोरी–१ रोजीनगरले एकका विरुद्ध दुई गोलअन्तरले पराजित गरेको छ ।
भूमिशक्ति युवा क्लबका जितु पाण्डेले मध्यान्तरपूर्व गोल गरी अग्रता दिलाए तापनि निर्मल समाज क्लबका समीर थापाले मध्यान्तरपछि एक गोल गरी बराबरी गरे भने अर्का सञ्जीव भट्टराईले गोल गरी जीत दिलाए । पहिलो खेलको ‘म्यान अफ दी म्याच’ भट्टराई घोषित भएको वनशक्ति युवा क्लबका अध्यक्ष कमल रानाले बताए ।
दोस्रो खेलमा अमृत युवा क्लब ठोरी–२ सुन्दरबस्तीले युवा जागृति क्लब ठोरी–२ गौतमनगरलाई एक गोलअन्तरले पराजित ग¥यो । मध्यान्तरपूर्व अमृत युवा क्लबका राजु सापकोटाले गरेको एक गोल नै आजको दोस्रो खेलको निर्णायक रह्यो । दोस्रो खेलको ‘म्यान अफ दी म्याच’ अमृत युवा क्लबका पावेल थापा घोषित भए ।
भोलिको पहिलो खेल निर्मल समाज युवा क्लब ठोरी–४ मिलचोक र जनचेतना युवा क्लब ठोरी–१ भगवाननगरबीच हुनेछ भने दोस्रो खेल नवयुवा क्लब ठोरी–२ गौतमनगर र थ्रीस्टार क्लब ठोरी–१ सरस्वतीनगरबीच हुने खेल संयोजक सुनील लामाले बताए ।