राकेश यादव, रौतहट, १८ असोज/

रौतहटका बजारहरूमा युरिया मलको अभाव छ र भारतीय सीमा क्षेत्रका बजारबाट ल्याउँदा कानूनी झन्झटको सामना गर्नुपरिरहेको किसानहरूले बताएका छन् ।

नेपाली बजारमा नपाइने र भारतबाट ल्याउन नदिएपछि किसानलाई समस्या बढेको छ । धानखेती गरेका किसानलाई अहिले रासायनिक मल आवश्यक छ, तर बजारमा मल छैन । बर्सेनि मलखादको समस्या भोग्नुपरेका किसानले खेतीबाट पलायन हुने अवस्था आउन लागेको प्रतिक्रिया दिन थालेका छन् ।

नेपालमा वर्षे धान, चैते, भदैया, घैया र हिउँदे धानखेती हुने गर्छ । नेपालमा खेती गरिने कुल क्षेत्रफलको ४७ प्रतिशत जमीनमा धानखेती हुन्छ । अन्नबाली उत्पादनको कुल क्षेत्रफलको करीब ४३ प्रतिशतमा धानखेती हुने गरेको र कुल अन्नबाली उत्पादनमा ५३ प्रतिशत धानले हिस्सा ओगटेको छ ।

धानबाली लगाएका किसानले मलखादको चरम अभाव भोगेको र कृषि सामग्रीकै अभावमा उत्पादन घटेको उनीहरूको आरोप छ ।
लगानीभन्दा फाइदा कम हुन थालेपछि किसानले खेती गर्ने वा नगर्ने अन्योलमा परेको बताउन थालेका छन् । सिंचाइको उचित व्यवस्था छैन, कृषि प्राविधिकहरू किसानको खेतमा पुग्दैनन् । खर्च धेरै, आम्दानी कम हुन थालेको यमुनामाई गापाका किसान सञ्जीव बैठाले बताए ।

जसोतसो गरी किसानले भारतीय बजारबाट ल्याएका मलखाद पनि सीमा क्षेत्रका सुरक्षाकर्मीले खोस्ने गरेकाले किसान पीडित हुने गरेको प्रदेशसभा सदस्य बाबुलाल साह बताउँछन् । किसानका समस्याबारेमा केन्द्र तथा प्रदेश सरकारलाई पटक–पटक अवगत गराए पनि सुनुवाइ नभएको सांसद साहले बताए । किसानका विभिन्न आन्दोलनको अगुवाइ गरिरहेका सांसद साहले सरकारले कृषि यन्त्रमा पनि बढी राजस्व लगाएकोले कृषि पेशा सङ्कटमा पर्दै आएको बताए ।

गढीमाई नपाका किसान हरेन्द्र यादव भन्छन्– नेपालमा मल पाइँदैन, भारतबाट ल्याउन सजिलो छैन । ४० रुपैयाँ किलो मल किनेर २० रुपैयाँ किलोमा धान बेच्नुपरेकोले यो अवस्था विद्यमान हुन्जेल किसान कसरी बाँच्ने उनी प्रश्न गर्छन् । अवस्थामा सुधार्नुपर्छ, अनि किसान कसरी बाँच्छ, उनको तर्क थियो ।

सर्वसुलभरूपमा मलको व्यवस्था, ट्याक्टरमा लाग्ने कर खारेज, कृषि बीमा, कृषि ऋणको व्यवस्था तथा किसानलाई पेन्सनको व्यवस्थाको माग गर्दै रौतहटमा किसानहरूले आन्दोलनसमेत गरे तर सरकारले किसानका समस्याहरूको बारेमा ध्यान नदिएपछि अहिले उत्पादन पनि घट्न थालेको छ ।

मलखादको माग र आपूर्तिमा छैन तालमेल

१० बोरा आवश्यक रहेको किसानले दुई बोरा मुश्किलले पाउने गरेको चन्द्रपुर नगरपालिकाका किसानहरूले बताए । किसानहरूले मागबमोजिम अहिले अत्यावश्यक रहेको युरिया मल पाउन सकेका छैनन् । किसानले भारतबाट आफैंले लुकीछिपी मल ल्याउने गरेका छन् । भारतबाट त्यसरी मल ल्याउन निकै हैरानी खेप्नुपर्छ ।

सिमानामा सुरक्षाकर्मीले रोक्ने, मल ल्याउँदा किसानले थप सास्ती र झन्झट सहनुपर्छ । किसानको बहाना गर्दै व्यापारीले ल्याउने र तस्करी गर्ने गरेकाले सीमामा खटिएका सुरक्षाकर्मीले कडाइ गर्ने गरेका छन् ।

जिल्लामा करीब ४० हजार हेक्टर जमीनमा धानखेती हुने गरेको तथ्याङ्क छ । हरेक वर्ष रोपाइँ र धानलाई रासायनिक मलखाद चाहिने बेलामा अभाव हुन्छ । गत आर्थिक वर्षमा कृषि सामग्री कम्पनी लिमिटेडले जिल्लामा १५५ सहकारी संस्थामार्फत युरिया दुई हजार ८५२ मेट्रिक टन र दुई हजार ३५१ मेट्रिक टन डिएपी बिक्री गरेको थियो । यस आर्थिक वर्षको भदौसम्ममा एक हजार ७५१ मेट्रिक टन युरिया र ३५६ मेट्रिक टन डिएपी मल वितरण गरेको कम्पनीका सूचना अधिकारी गोविन्द घिमिरेले जानकारी दिए ।

अहिले कम्पनीको चन्द्रनिगाहपुरमा रहेको गोदानमा मल छैन । यस्तै, गौरमा रहेको साल्ट ट्रेडिङ डिपोको गोदाम पनि खाली रहेको प्रमुख वासुदेव मिश्रले जानकारी दिए । डिपोले ५५ वटा सहकारीमार्फत मलखाद वितरण गर्दै आएको छ ।

सहुलियतमा वितरण गरिने मल किसानलाई पर्याप्त छैन । तर त्यो मल अधिकांश सहकारी संस्थाले कालोबजारी गर्दै बढी मूल्यमा बिक्री गर्ने गरेको किसानहरूले आरोप लगाउने गर्छन् ।

रौतहटका किसानका लागि अनुदानमा आएको रासायनिक मल गत वर्ष मकवानपुर, सिन्धुली, सर्लाही, बारा जिल्लाका विभिन्न स्थानमा सहकारीसँग मिलेर व्यापारीहरूले लैजाने गरेको पाइएको थियो । सहकारी संस्थाहरूले व्यापारीलाई मल बिक्री वितरणको जिम्मा दिने र व्यापारीले मनलाग्दी मूल्यमा बिक्री गर्ने गरेको किसानको गुनासो छ ।

अनुदानको युरिया मल सहकारी संस्थाहरूले ७ सय २७ रुपैयाँ ५० पैसामा ५० किलोको एक बोरा खरीद गरेर ढुवानी खर्च जोडेर ८ सय ५० रुपैयाँसम्ममा शेयर सदस्यहरूलाई बिक्री गर्न सक्छन् तर सदस्यहरूलाई वितरण नगरी व्यापारीमार्फत दुई हजार रुपैयाँ प्रतिबोरासम्म बिक्री हुने गरेको पाइन्छ । राजनीतिक पहुँच भएका, स्थानीय तहमा निर्वाचितहरू नै कृषि सहकारी संस्थाका हर्ताकर्ता छन् र उनीहरूकै मिलेमतोमा मल कालोबजारी हुने गरेको आरोप छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here